मिलनचोकको गुम्बाले पाँच लाख पाउने

रकम छुट्याईएको पत्र प्रदान गर्दै प्रदेश सांसद् लुंगेली । (तस्बिर सौजन्य : तेजनारायण आले मगर)

बागमती – सर्लाहीको बागमती नगरपालिका–१ मिलनचौकमा रहेको मगर गुम्बाले मर्मत सम्भार तथा सरसजावटका लागि पाँच लाख रुपैयाँ पाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको वौद्ध प्रवर्द्धन गुम्बा व्यवस्थापन समिति केन्द्रीय कार्यालयले सो गुम्बालाई उक्त बजेट उपलब्ध गराउने भएको हो । प्रदेश सांसद् बेची लुंगेली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र लामाको विशेष पहलमा गुम्बाको स्तरोन्नतिका लागि रकम उपलब्ध गराउने पत्र प्राप्त भएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।

सो रकम मन्त्रालयले गुम्बाका लागि छुट्याएको औपचारिक पत्र शुक्रवार प्राप्त भएको मगरले बताए । प्रदेश सांसद् लुंगेली, नेकपा नेता लामासँगै मगर संघका वरिष्ठ सल्लाहकार सदस्य दीपक थापा मगर, छलबहादुर राना मगर, लक्ष्मी थापा मगर, उमा राना मगर लगायतको उपस्थितिमा मन्त्रालयले सो रकम पठाएकोबारे जानकारी सहित बैठक समेत बसेको नेपाल मगर संघ सर्लाहीले जनाएको छ ।