पूर्व मन्त्री यादवद्वारा कटान प्रभावित क्षेत्रको निरीक्षण

निरीक्षणमा हिँडेको पूर्व मन्त्री एवं संघीय सांसद् यादव नेतृत्वको टोली । (तस्बिर : जिसस प्रमुख चौधरीको फेसबुक वाल)

मलंगवा – लखन्देही र झिम खोलाको बाढीले सर्लाहीको दक्षिणी क्षेत्रमा कटान गरेको ठाउँहरुमा निरीक्षण गरिएको छ ।

सर्लाहीको २ नं. क्षेत्रका संघीय सांसद एवं पूर्व मन्त्री महेन्द्र राय यादव सहितको टोलीले खोलाको कटानले गर्दा तटबन्ध निर्माण गर्न आवश्यक रहेको स्थानहरुको स्थलगत निरीक्षण गरेको हो । मलंगवा नगरपालिका, कविलासी नगरपालिका, ब्रम्हपुरी गाउँपालिका र कौडेना गाउँपालिकामा दुवै खोलाले बढी क्षति गरेको स्थानको निरीक्षण गरिएको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले जानकारी दिए ।

गत साउन/भदौको वर्षाले धेरै कटान गरेको क्षेत्रमा तत्कालै तटबन्ध निर्माणको काम अघि बढाउने उद्देश्यसहित सांसद, नगरप्रमुख, प्राविधिकहरु र तटबन्ध निर्माणको जिम्मा पाएको जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुखसहितको टोलीले निरीक्षण गरेको हो । निरीक्षणमा सांसद यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर राय, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख रवीन्द्र कुमार झा र अन्य प्राविधिकहरुको उपस्थिति थियो ।

वर्षायाममा बर्सेनि लखन्देही, झिम र बागमती खोलाबाट दक्षिणी भेगमा व्यापक मात्रामा डुबान तथा कटानको समस्या आउने गरेको छ ।