अन्नपूर्णले फेरि ढाट्यो उखु किसानलाई

पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

धनकौल – सर्लाहीको पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले यो पटक पनि उखु किसानलाई ढाँटेको छ ।

केही साताअघि यहाँका उखु किसान अघिल्ला वर्षहरुमा बेचेको उखुको पैसा माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रवन्धक र अरु जिम्मेवार कर्मचारीले छठ अघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएका थिए । तर शुक्रबारसम्म किसानको खातामा एक रुपैयाँ पनि जम्मा भएको छैन् ।

काठमाडौंमा राष्ट्रपति, उद्योग मन्त्री र पैसा दिन आलटाल गरिरहेको उद्योगका जिम्मेवारी अधिकारीहरुलाई भेटेर एक साताअघि घर फर्किएका धनकौल गाउँपालिका–२, का किसान रामकल्याण यादवले यो पटकको छठमा समेत निराश पार्ने काम भएको उज्यालो अभियानसँग गुनासो गरे । आफूहरुको आम्दानीको एक मात्रै स्रोत नगदे बाली उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको दुःखेसो छ ।

गत वर्ष सञ्चालनमै आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले तीन÷चार वर्ष अघि नै किसानबाट किनेको उखुको पैसा दिएको छैन् । भाका राखेर सो उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताए । समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई असाध्य रुवाइरहेका मैनालीको भनाई छ ।

यो पनि पढ्नोस्

सरकार गुहारेर रित्तो हात फर्किए सर्लाहीका उखु किसान

चिनी उद्योगबाट समयमै भुक्तानी नपाएपछि सस्तैमा उखु बेच्दै किसान

उखुको पैसा माग्दै सर्लाहीका किसान काठमाडौं पुगे

उद्योगले थोरै रकम देखाएपनि अन्नपूर्णले ३० करोड रुपैयाँ र महालक्ष्मीले ६ करोड रुपैयाँँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको पैसा हात नलाग्दा सर्लाहीको दक्षिणी भेगका किसान निराश भएका छन् ।

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योगले यो सिजनमा पुनः सञ्चालन गर्ने तयारी गरेका छन् ।