सर्लाहीको तापक्रम आइतवार जाडो सुरु भएपछिकै कम

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीसहित देशभर नै चिसो बढ्दै गएको छ ।

आइतवार बिहान सर्लाहीको तापक्रम जाडो सुरु भएपछिकै कम १३ डिग्री सेल्सियस मापन गरिएको छ । अघिल्ला दिनहरुमा जिल्लाको तापक्रम बिहानीपख १७ डिग्री सेल्सियसको हाराहारीमा हुन्थ्यो । तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ ।

बिहान–बेलुका र रातको समयमा सर्वसाधारणले कठ्यांग्रिदो चिसो महुसुस गर्न थालेका छन् । बिहानीपख हुस्सु र मध्यान्हमा पारिलो घाम लाग्ने गरेको छ । चिकित्सकले अहिले चिसो र धूलोको संक्रमण दुवै सँगसँगै बढिरहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।

जिल्ला अस्पताल सर्लाहीका प्रमुख एवं डा. सन्जिवकुमार सिंहले धूलो र चिसोले गर्दा रुघाखोकी, घाँटी दुख्ने, नाक बन्द हुने, एलर्जी लगायत संक्रमणका बिरामी बढेका बताए । यि संक्रमणहरुबाट बच्न धूलो उड्ने सडक भएर यात्रा गर्दा मास्क अनिवार्य लगाउन वा कपडाले मुख छोप्न, शरीरमा चिसो नपस्ने किसिमले कपडा लगाउन, झोलिलो, ताता र ताजा खानेकुरा बढी मात्रामा खान डा. सिंहले सुझाव दिए ।