प्रदेश भलिबलको उपाधी ईश्वरपुरको पोल्टामा, बडकुरुवा दोस्रो

प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई दिन राखिएको शिल्ड र कार्यक्रमका अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका १ भक्तिपुर चौलिखा बजारमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधी ईश्वरपुर ८ को शुभलक्ष्मी युवा क्लब जितेको छ ।

आइतवार सम्पन्न फाइनल खेलमा चन्द्रनगर गाउँपालिकाको एभरेष्ट युवा क्लब बडकुरुवालाई ३–२ को सेटमा पराजित गर्दै ईश्वरपुरले उपाधी उचालेको हो । बिजेता ईश्वरपुरलाई ५० हजार तथा उपबिजेता बडकुरुवालाई २५ हजार नगदसहित दुवै टिमलाई शिल्ड, कप र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताको आयोजना गरेको योङस्टार युवा क्लब पोखरीयाका अध्यक्ष अनिक चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको उपबिजेता बडकुरुवाका लोचन यादव सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता समापनको अवसरमा आइतवार एभरेष्ट आवासिय विद्यालय लालबन्दी र भानुभक्त मेमोरियल आवासिय विद्यालय गौशाला महोत्तरीका महिला भलिबल खेलाडीबीच भएको खेलमा एभरेष्टले भानुभक्तलाई २–० को सेटमा पराजित गरेको छ ।

प्रतियोगिताका बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, उपमेयर एकावती देवी चौधरी, वडा नं. १ का वडाध्यक्ष दुःखा प्रसाद चौधरी, वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा आयोजक योङस्टार क्लबका पूर्व खेलाडीहरुलाई सम्मान समेत गरिएको स्थानीय शिक्षक रमेश कुमार चौधरीले बताए । उनका अनुसार मंसिर २ गतेदेखि सुरु भएको प्रदेश स्तरीय भलिबल प्रतिस्पर्धामा ३१ वटा टिमले सहभागिता जनाएका थिए ।