नौमती बाजा संरक्षणमा जुटे मिलनचौकवासी

नौमती बाजा बजाउँदै स्थानीय । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती नगरपालिका–१, मिलनचौकका स्थानीयहरु लोप हुनै लागेको नौमती बाजा संरक्षण गर्न जुटेका छन् ।

स्थानीय आमा समूहले नौमती बाजा खरिद गरेर प्रयोगमा ल्याएको हो । समूहमा आवद्ध महिलासँगै स्थानीय पुरुषहरुले शनिवार दिउँसो नगरपालिकाका मेयर लगायतलाई बोलाएर आफैले बाजा समेत बजाई सुनाएका छन् ।

लमजुङ, गोरखा, स्याङजा, तनहुँ लगायतका ठाउँमा मात्रै अहिले प्रायः सुनिने नौमती बाजा मिलनचौकका स्थानीयहरु आफैले किनेर यसको संरक्षणमा जुटेका हुन् । उनीहरुले शनिवार पहिलो पटक उद्घाटन स्वरुप बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, वडा नं. १ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिन, नेपाली कांग्रेस बागमती नगर समितिका सभापति दीपक कुमार रानाभाट लगायतलाई आमन्त्रित गरी बाजा बजाएर सुनाएका हुन् ।

वडाध्यक्ष पाख्रिनले मिलनचौकवासी आफै जुरुमुराएर बाजा संरक्षणमा देखाएको चासो र चिन्ता सराहनीय रहेको बताए । आफूहरुले निकै चाखपूर्ण किसिमले बाजा हेरेर स्थानीयहरुलाई निरन्तर प्रयोगका लागि सुभकामना र धन्यवाद ज्ञापन गरेको कांग्रेस बागमतीका सभापति रानाभाटले जानकारी दिए ।

स्थानीयहरुले जुटाएको नौमती बाजा अब विवाह, व्रतवन्ध लगायतका शुभ कार्यमा प्रयोग गरिने छ । नौमती बाजामा दुई–दुईवटा नर्सिंगा, सनाइ र दमाहा अनि एक–एकवटा झ्याम्टा, टयाम्को, मादल र ढोलक हुन्छ ।