कोरोना संक्रमणकैबीच सर्लाहीमा उल्लासका साथ मनाइयो छठ

लालबन्दी – सर्लाहीसहित तराई मधेसमा निकै उल्लासका साथ पवित्र र निष्ठाको पर्व छठ मनाइको छ ।

ब्रतालुहरुले आज बिहान पोखरी, खोला किनार, नहर लगायतका जलाशयमा बनाइएका सजियाघाटबाट उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पनि सकिएको छ । सूर्यलाई अर्घ चढाएर व्रतालुहरु आ–आफ्नो घर फर्किसकेका छन् । व्रतालुले यसअघि गएसाँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएका थिए ।

विश्वव्यापी महामारी कोरोना संक्रमणकैबीच पोहोरका साल झैँ जलाशयमै पुगेर तराई मधेसवासीले विशेष निष्ठा र हर्षउल्लासका साथ छठ पर्व मनाएका हुन् । विगतमा मधेशका जिल्लामा मात्र सीमित छठ पर्व पछिल्लो समय सबै क्षेत्र, जात जाती तथा धर्मका मानिसहरुले श्रद्धाका साथ मनाउन थालेका छन् ।

सर्लाहीमा सदरमुकाम मलंगवासहित बागमती नदी, मनुष्मारा नदी, लखन्देही खोला, ढंग्रा खोला, लालबन्दीको डुमडुमे पोखरी परिसर, हरिवन, नवलपुर, ईश्वरपुर, बरहथवा लगायत जिल्लाभरका पोखरी, नहर लगायत जलाशयमा छठ पर्व मनाइएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

स्थानीय प्रशासनले कोरोना संक्रमण बढिरहेकाले यो पटक सकेसम्म घरमै पर्व मनाउन वा जलाशयमा जाँदा भीडभाड नगर्न भनेको थियो । तर एका÷दुईले बाहेक धेरैजसोले पहिलेकै जसरी सजियाघाटमै पुगेर पर्व मनाए । छठमा ब्रत बसे परिवारको कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ ।