लागूऔषध ओसार्दै गरेको अवस्थामा लालबन्दीबाट भारतीय युवा सहित तीनजना पक्राउ

ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले केही समय पहिला बरामद गरेको लागूऔषधको रुपमा प्रयोग हुने वालरेक्सका बोतल । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – भारतीय दुईजना युवा सहित तीनजनालाई लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिर्ईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विहिबार साँझ बयलबास बजारबाट लालबन्दीतर्फ आउँदै गरेको दुईवटा मोटरसाईकल रोकी त्यसमा सबार तीनजनालाई चेकजाँच गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । लालबन्दी नगरपालिका–१७, प्रताप टोल स्थित भित्री सडकखण्डमा बयलबासबाट लालबन्दी आउँदै गरेको ज. ९ प ३७९८ नम्बरको मोटरसाईकलमा सबार ईश्वरपुर नगरपालिका–२ निवासी १८ वर्षीय मनोज कुमार साह तथा सोही मोटरसाईकलको पछाडी सवार भारतको सितामाढी सोनवर्षा ग्राम पञ्चायत वडा नं. १४ निवासी २९ वर्षीय कृष्ण महतोलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । मोटरसाईकलको बीचमा सेतो बोरामा राखी ल्याएको सय एमएलको ९६ बोतल डाईलेक्स डीसी र मोबाईल १ थान बरामद् भएको प्रहरीले दाबी गरेको छ ।

सँगसँगै रहेको भारतीय BR 30 Z 4696 नम्बरको मोटरसाईकल चालक भारत सितामाढी सोनवर्षा ग्रामपञ्चायत वडा नं. १४ निवासी १८ वर्षीय संजिव साहको साथबाट २०९ ट्याब्लेट नाईट्राभेट, डाईलेक्स डीसी थान २ र १ थान मोबाईल बरामद् भएको प्रहरीले जनायो । पक्राउ परेका तीन जनालाई नै लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।