दोस्रो बागमती मेयर कप हुने

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक क्लबका अध्यक्ष बोहोरा तथा उपस्थित नगरपालिकाका वडाध्यक्ष एवं आयोजक क्लबका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

धरहरा – सर्लाहीको बागमतीमा दोस्रो बागमती नगरपालिका मेयर कप फूटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन मार्फत यहि मंसिर १८ गतेबाट प्रतियोगिता आयोजना हुने आयोजक अन्नपुर्ण सहयोगी क्लव धरहराले जनाएको हो । बागमती नगरपालिका–३ स्थित क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजक क्लवको एक टिम सहित नगरपालिका भित्रका १२ वटा वडाबाट गरी १३ टिमले सहभागिता जनाउने भएका छन् ।

मंसिर ३० गते सम्पन्न हुने प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार तथा उप विजेता टिमले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । नगर क्षेत्रमा रहेका उदियमान खेलाडिहरुलाई खेल क्षेत्रमा अवसर सहित सहभागी गराउने यो प्रतियोगिता कोसेढुंगा साबितहुने कार्यक्रमका प्रमुख अतिथि बागमती नगरपालिका खेलकुद समिति संयोजक एवं वडा नं. २ का वडाध्यक्ष ङेमा लामा (दिपक) ले बताए ।

२०७५ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करण बागमती नगरपालिका –२ ले आयोजना गरेको थियो । २०७६ मा विविध कारणले संचालन हुन नसकेको प्रतियोगितालाई फेरि सुचारु गर्ने प्रयास गरिएको ३ नम्बर वडाका वाध्यक्ष तिलक मोक्तानले जानकारी दिए ।
नगरको केही आर्थिक सहयोग र आयोजक क्लवको आन्तरिक पहलमा खेल संचालन हुने तयारी भएको हो । आयोजक सहारा क्लबका अध्यक्ष टंक बोहोराको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा वडा नं. ४ का वडाध्यक्ष कृष्ण लामा लगायतको आतिथ्यता रहेको थियो ।

संचारकर्मी राजु लो तामाङले सञ्चालन गरेको कार्यक्रममा आयोजक क्लबका सचिव कालिबहादुर बोहोराले खेल तालिका, प्रतियोगिताको नियम लगायत बारेमा पढेर सुनाएका थिए । सबै वडाका प्रतिनिधिहरुको उपस्थितीमा गोलाप्रथाद्वारा प्रतियोगिताको टाईसीट समेत तयार पारिसकिएको आयोजक क्लबले जनाएको छ ।