कर्मचारीमाथि कुटपिट गरेको भन्दै प्रदेश सांसद् अशोक यादवविरुद्ध उजुरी

प्रदेश सांसद् अशोककुमार यादव ।

मलंगवा – प्रदेश सांसद् एवं जनता समाजवादी पार्टीका नेता अशोक कुमार यादवले कृषि ज्ञान केन्द्र मलंगवाका अधिकृतमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

गत बुधबार राती साँढे सात बजे कृषि ज्ञान केन्द्र परिसरमा रहेको निवासमै आएर सांसद् यादवले आफू र अर्का अधिकृतमाथि गालिगलौज सहित कुटपिट गरेको प्रमुख कमल देव प्रसाद कुशवाहाले दाबी गरे । यस आर्थिक वर्षदेखि प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले दुईजना कार्यालय सहयोगीको दरबन्दीमा एक दरबन्दी कटौती गरेको र एकजनालाई हटाउनु पर्ने अवस्था आएपछि सांसद् यादवले आफ्नो मान्छेलाई अहिले नै नियुक्तिपत्र दिनुपर्ने भन्दै गालीगलौज एवं कुटपिट गरेको प्रमुख कुशवाहाले बताए ।

‘उहाँ (सांसद यादव) लगायत ४/५ जना राती निवासमा आउनु भो अनि करारमा के छ भन्दै सोध्नु भो’, प्रमुख कुशवाहाले भने, ‘अब मन्त्रालयबाट दरबन्दी कटौती भएपछि त हाँमीले एकजनालाई हटाउनै पर्ने हुन्छ, तर उहाँ आएर मेरै मान्छेलाई अहिले नै नियुक्ति पत्र दिई दिनुपर्छ भन्नु भयो, अनि हाँमीले मन्त्रालयसँग समन्वय गरेर आवश्यक प्रकृया अगाडी बढाउछौं भन्दा मसँगै रहेका अर्का अधिकृत गणेश प्रसाद सिंहलाई एक्कासी गालीगलौज सहित कुटपिट नै गर्नुभयो ।’ कार्यालय प्रमुख कुशवाहाले आफूले प्रमुख जिल्ला अधिकारी समक्ष दोषि उपर कार्बाहीका लागि उजुरी दिएको उज्यालो अभियानलाई बताए ।

कृषि ज्ञान केन्द्रका अधिकृत गणेश प्रसाद सिंहले कार्यालय प्रमुखज्यूको निवासमा बसिरहेको अवस्थामा आउने वितिकै प्रदेश सांसद यादव सहितको समूहले हातपात गरेको दाबी गरे । ‘हाकिम साहेब र म निवासमा बसिरहेका थियौं, उहाँहरुले आउने वितिकै हात हालिहाले, दुईतीन जना अरुपनि थिए, म माथि कुटपिट गरे, अनुहारमा चोटपटक लागेको छ’, सिंहले भने, ‘कार्यालय सहयोगीमा मेरो मान्छेको अहिले नै नियुक्ति पत्र दिई हाल भन्दै कुटपिट गरियो, म तत्काल जिल्ला अस्पताल पुगेर उपचार गराएँ, घाउ जाँच केस फारम पनि गराएको छु ।’

यता प्रदेश सांसद् यादवले भने आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गरे । ‘मैले कसैमाथि पनि हातपात वा कुटपिट गरेको छैन, मलाई फसाउने नियतले आरोप लगाईएको हो’, सांसद् यादवले उज्यालो अभियानसँग भने, ‘मैले त खाली सिस्टम अनुसार पहिला देखि नै काम गरिरहेको कर्मचारीलाई ग्राह्यता दिई पुनः नियुक्ति दिनुपर्छ भनेको हुँ ।’ हरेक सरकारी कार्यालयमा कर्मचारी नियुक्ति होस् वा बजेट बाँडफाँड सिस्टममा काम हुनुपर्छ भन्ने आवाज बुलन्द रुपमा उठाउँदै आएकाले पहिला देखि नै प्रहरी प्रशासन एवं सरकारी कार्यालयका कर्मचारीले आफूमाथि फसाउने नियत राख्दै आएको सांसद् यादवको आरोप छ । जनप्रतिनिधिको हैसियतले जनताको गुनासोलाई सम्बोधन गर्ने र भ्रष्ट्राचार एवं अनियमितता विरुद्ध आवाज उठाउँदा प्रहरी प्रशासन सहित सरकारी कार्यालयका कर्मचारीहरुबाट आफूमाथि अनावश्यक आरोपप्रत्यारोप लाग्ने गरेको सांसद् यादवले आरोप लगाए ।

कर्मचारीका अनुसार सर्लाही र महोत्तरी जिल्ला हेर्ने गरी स्थापना भएको कृषि ज्ञान केन्द्र मलंगवालाई मन्त्रालयले यस आर्थिक वर्षदेखि फुटाएर महोत्तरी जिल्ला हेर्नका लागि जलेश्वरमा छुट्टै कृषि ज्ञान केन्द्र स्थापना गरेको छ । दुईवटा जिल्ला हेर्ने कार्यालय फुटेपछि कार्यालय सहयोगिको दरबन्दी कटौती भएको हो । कार्यालय स्रोतका अनुसार दुईजना कार्यालय सहयोगीको दरबन्दी अनुसार एकजना प्रदेश सांसद् अशोककुमार यादवको तथा अर्का एकजना प्रदेश सांसद् संजय यादवको मान्छेले करारमा काम गरिरहेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कृषि ज्ञान केन्द्रका कर्मचारीमाथि कुटपिट भएको लिखित उजुरी परेको जानकारी दिए । ‘प्रदेश सांसद् अशोककुमार यादवज्यूले मदिरा सेवन गरेर राती निवासमा बसिरहेका कर्मचारीमाथि हातपात गरेको भन्ने जानकारी आएको छ’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘पीडित कर्मचारीबाट लिखित उजुरी आएको र घाउ जाँच केस फारम समेत भईसकेकाले घटनाबारे गम्भिर रुपमा अनुसन्धान भईरहेको छ, दोषि देखिए जो सुकैलाई कानून बमोजिम कार्बाही हुनेछ ।’