ईश्वरपुरमा सुत्केरी गाई भैँसीलाई पोषण भत्ता

किसानलाई पोषण भत्ता प्रदान गर्दै कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर, मंसिर ४ – सर्लाहीको ईश्वरपुर नगरपालिकाले सुत्केरी गाई-भैँसीको पोषण भत्ता वितरण कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।


नगरपालिकाले गत वर्ष देखिनै नगरभित्रका कुनै किसानले पालेको एउटा गाई वा भैँसी ब्याउँदा १ हजार ५ सय रुपैयाँका दरले पोषण भत्ता वितरण गर्न सुरु गरेको थियो । सोही कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिई बिहिवार हिजो औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रेतीले हिजो ईश्वरपुरस्थित महेन्द्र बजारमा झण्डै ५० जना किसानलाई एक हजार ५ सयका दरले रकम बाँड्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर मनोज कुमार देवकोटा, उपमेयर एकावती देवी चौधरी, नगर पशु सेवा शाखाका प्रमुख शिकारी साह लगायतको उपस्थिति थियो ।

किसानलाई पशुपालनमा हौशल्ला प्रदान गरी दुध उत्पादन बढाउने उद्देश्यले कार्यपालिका बैठकबाटै निर्णय गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको मेयर देवकोटाले बताए । उनका अनुसार यस आर्थिक वर्षको गत साउन यता मात्रै करिव ७ सय किसानले आफ्नो गाई भैँसी ब्याएको भन्दै वडा कार्यालयमार्फत सिफारिस पत्र पेश गरेका र उनीहरुलाई अब आईतवारबाट क्रमैसँग भत्ता रकम वितरण गरिने छ ।