१८ वर्षीय विज्ञानका विद्यार्थी प्याकुरेलको १०१ गजल प्रकाशित

लेखक विवेश प्याकुरेलद्वारा लिखित यथार्थ नामक गजल संग्रह विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – १८ वर्षीय एक विद्यार्थीले गजल संग्रह प्रकाशित गरेका छन् ।

हरिवन नगरपालिका–११ निवासी विवेश प्याकुरेलले यथार्थ नामक १०१ वटा गजल संग्रहित पुस्तक प्रकाशित गरेका हुन् । ट्रिनिटी कलेज काठमाडौंमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत प्याकुरेलद्वारा लिखित गजल संग्रहको बुधबार हरिवन स्थित सगुन सहकारीको सभाहलमा विमोचन गरिएको हो ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका प्रभावशाली नेता विदुर प्याकुरेल एवं विनु पौडेलका छोरा विवेशद्वारा लिखित गजल संग्रहको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, उपमेयर रेणुका पौडेल, नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त, नेकपाका नेताहरु सुरेन्द्र लामा, राजकुमार यादव लगायतले विमोचन गरेका हुन् । विदुर प्याकुरेलको सभापतित्व एवं हरिवनका मेयर प्रसाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा किशोरावस्थाका प्याकुरेलले लेखेका गजलहरु उत्कृष्ट रहेको र उक्त गजल संग्रहलले साहित्य क्षेत्रमा निकै ठूलो टेवा पुर्याउने वक्ताहरुले धारणा राखेका थिए ।

गजल संग्रहका लेखक विवेशले आगामी दिनमा साहित्य क्षेत्रमा क्रियाशिल हुने उल्लेख गर्दै यस्ता कृतिहरु प्रकाशित गरिरहने र साहित्य क्षेत्रमा योगदान गरिरहने प्रतिबद्धता जनाए ।