तेक्वान्दोका खेलाडी सम्मानित

अनलाईन प्रतिस्पर्धामार्फत स्वर्ण पदक हासिल गर्न सफल खेलाडीलाई सम्मान गर्दै मेयर प्रसाई र अन्य । तस्बिर : उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा वुधवार बिहान तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरिएको छ ।

१४ वर्षमुनिको प्रथम अनलाईन अन्तराष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी र जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नेपाल तेक्वान्दो सङ्घ सर्लाहीले सम्मान गरेको हो । ब्राजिल तेक्वान्दो महासङ्घले आयोजना गरेको अनलाईन प्रतिस्पर्धामा स्वर्ण पदक बिजेता लालबन्दी नगरपालिका–५ का आयुष ढुङ्गेललाई सम्मान पत्रबाट सम्मान गरिएको नेपाल तेक्वान्दो सङ्घ सर्लाहीका कोषाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

यस्तै कात्तिक १ गते हरिवनमा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्रमश ः हरिवन, नवलपुर र हरिपुर डोजाङलाई ट्राफी प्रदान गरी तथा खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरिएको छ । नेपाल तेक्वान्दो सङ्घ सर्लाहीका अध्यक्ष खड्गबहादुर सापकोटाको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा सुर्ती विकास खेल मैदान हरिवनमा खेलाडीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडा नं. ११ का वडाध्यक्ष शेष महबुब रेजा, विभिन्न डोजाङका प्रशिक्षक र अन्य महानुभावहरुको आतिथ्यता रहेको थियो ।