क्यान्सरपीडित राईलाई तामाङ घेदुङको सहयोग

क्यान्सरपीडित राई (सबैभन्दा बायाँ) तथा नगद सहयोग गर्न गएको तामाङ घेदुङको टोली । (तस्बिर : उज्यालो अभियान)

बागमती – नेपाल तामाङ घेदुङ बागमती नगर कमिटीले क्यान्सरपीडित कुमारी राईलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

घेदुङका बागमती अध्यक्ष जय गोले नेतृत्वको टोलीले शनिबार दिउँसो बागमती नगरपालिका–२, धरहरा स्थित राईको घरमै पुगेर ४५ हजार ५०० रुपैंया नगद प्रदान गरेको हो । नेपाल तामाङ घेदुङ प्रदेश दुईका उपाध्यक्ष संजिब मोक्तान, पाल्देन दोर्जे लामा, शंकर गोले तामाङ, तामाङ संचार समूहका नेता संचारकर्मी राजु लो तामाङ, तामाङ घेदुङ हरिवनका उपाध्यक्ष रोजन घिसिङ, बागमती घेदुङकी उपाध्यक्ष सरिता घिसिङ, उपाध्यक्ष हिरालाल स्याङ्तान, सचिब चन्द्रबहादुर जिम्बा लगायतको उपस्थितीमा सहयोग रकम प्रदान गरिएको अध्यक्ष गोलेले जानकारी दिए ।

४० वर्षीया राईले विगत लामो समयदेखि भरतपुर अस्पतालमा क्यान्सर रोगको उपचार गराईरहेकी छिन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र भएको सम्पति पनि बेचबिखन गरेर पत्नीको उपचारमा खर्च गरिएको राईका श्रीमान भिमबहादुर गोलेले बताए । राईको उपचारका लागि यसअघि पनि विभिन्न संघ संस्था सहित व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।