‘अर्गानिक’ काँक्रो फलाएर तीन लाख कमाई

अर्गानिक रुपमा काँक्रो खेती गर्दै आएका दीपेन्द्र मैनाली । (तस्बिर : उज्यालो अभियान)

राजघाट – सर्लाहीको बाग्मती नगरपालिका–५, राजघाट बिहानी चौकका एक परिवार काँक्रो खेती गरेर मनग्य आम्दानी गर्न सफल भएको छ ।

टनेलभित्र थोपा सिँचाईको माध्यमबाट अर्गानिक काँक्रो फलाएर स्थानीय दीपेन्द्र मैनालीको परिवार लोभलाग्दो आम्दानी गर्न सफल भएको हो । मैनालीको परिवारले २०७० सालदेखि करिब साँढे एक कठ्ठा जग्गामा चारवटा टनेल बनाएर व्यवसायिक रुपमा बेमौसमी काँक्रो खेती गर्दै आइरहेको छ । यो खेतीबाट सबै खर्च कटाएर बार्षिक न्यूनतम तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको मैनालीले बताए ।

उत्पादित काक्रो घरबाटै बिक्री हुन्छ । काठमाडौंमा साथीहरुसँगै मिलेर केही समय थोपा सिँचाईमार्फत अर्गानिक खेती गर्न सिकेर गाउँ फर्किएका मैनालीले परिवारसँग मिलेर गरेको काँक्रो खेती अहिले यस क्षेत्रमा नमूना बनेको छ । आफूले स्थानीय सरकारहरुसँग समन्वय गरी सर्लाहीकै विभिन्न पालिका र छिमेकी जिल्लामा समेत पुगी किसानलाई प्राविधिक सरसल्लाह र प्रविधि फैलाउँदै हिँड्ने गरेको मैनालीले बताए ।

बाहिरी रासायनिक मलखाद र औषधि प्रयोग नगरी आफैले घरमा बनाएको जैविक विषादीको प्रयोग गरेर काँक्रो खेती गर्दै आएको दीपेन्द्रका बुवा प्रेमप्रसाद मैनालीले बताए । उनका अनुसार थोपा सिँचाई मार्फत खेती गर्न एउटा टनेल निर्माण गर्दा २० हजार रुपैयाँ लागत लाग्छ ।

आफूहरुले आठ वर्षअघि २०७० सालमा बनाएको टनेलभित्र फागुनमा लगाएर नयाँ वर्षका लागि बैशाखमा, असारमा लगाएर तीजका लागि भदौमा र भदौ अन्तिममा लगाएर दशैँ तीहारका लागि काँक्रो फलाउँदै आएको मैनालीले बताए । मैनालीको टनेलमा अहिले तीहार तथा छठका लागि काक्रो तयारी अवस्थामा रहेका छन् ।