सरकार गुहारेर रित्तो हात फर्किए सर्लाहीका उखु किसान

बिक्रीका लागि उखु काट्दै गरेका किसान । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – चिनी मिलबाट उखु बेचेको पैसा दिलाईदिन माग गर्दै सरकारको शरणमा पुगेका सर्लाहीका अधिकांश उखु किसान जिल्ला फर्किएका छन् ।

राष्ट्रपति, उद्योगमन्त्री लगायतबाट तत्कालै भुक्तानि उपलब्ध गराउन पहल गर्ने आश्वासन पाएपछि उखु किसान काठमाण्डौंबाट घर फर्किएका हुन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा र ज्ञापन पत्र बुझाउँदा समेत चिनी मिलमा बेचेको उखुको पैसा नपाएपछि जिल्लाको दक्षिणी भेगका किसान एक साताअघि काठमाडौं पुगेका थिए ।

यहाँबाट गएका किसानले राष्ट्रपति विद्यादेवी भण्डारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखाराज भट्टसँग भेट गरेका छन् । गत वर्ष गरेको सहमति कार्यान्वयन गर्न भन्दै आइतवार उद्योग मन्त्री भट्टलाई स्मरण पत्र बुझाएका किसानले सोमवार राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।

उनीहरु दुवै जनाबाट उद्योगीलाई तत्कालै सम्पर्कमा ल्याई बक्यौता रकम भुक्तानि दिलाउन आ–आफ्नो स्थानबाट पहल गर्ने आश्वासन पाएपछि आफूहरु जिल्ला फर्किएको उखु किसान संघर्ष समिति सर्लाहीका संयोजक एवं गौडेता नगरपालिका ११ सिसौटियाका उखु किसान रामस्वार्थ रायले जानकारी दिए । ‘केही साथीहरु हिजो अस्ती नै फर्किनुभयो, म लगायत १०÷१२ जना बुधवार बिहान जिल्ला आइपुग्यौैँ’, रायले उज्यालो अभियानसँग भने, ‘यो पटकको आश्वासन अनुसार चाँडै पैसा पाउनेमा आशावादी छौँ । गत वर्ष पुसमा ठि¥याउँदो चिसोमा कठयांग्रिदै काठमाडौं पुगेर आन्दोलन गर्दा तत्कालै भुक्तानि दिलाउने सहमति गरेर पठाएको सरकारले एक वर्ष बित्दा समेत भुक्तानि दिलाउन नसकेपछि जिल्लाका किसान दोस्रो पटक काठमाडौं पुगेका थिए ।

धनकौल गाउँपालिका–२, का किसान रामकल्याण साहले अन्नपूर्ण चिनी मिलका माकिल राकेश अग्रवाललाई भेट्न सकिन्छ की भनेर धनकौल क्षेत्रका पाँच÷सात जना किसान अहिले पनि काठमाडौंमै बसिरहेको बताए । ‘उद्योगको काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा मेनेजरसँग भेट भयो, मालिक त बेपत्ता नै छन्, सरकारले ताकेता गरेपछि आउँछन् की भन्ने आशमा यहीँ कुरेर बसेका छौँ’, उनले भने ।

सर्लाहीको दक्षिणी भेगमा पर्ने अन्नपूर्ण चिनी मिल धनकौल पश्चिम र महालक्ष्मी चिनी मिल बगदहले उखु किनेको लामो समयसम्म भुक्तानि नदिँदा उखु किसानमा रुवाबासी छ । किसानले राखेको हिसाब अनुसार अन्नपूर्णले ३० करोड र महालक्ष्मीले छ करोडको हाराहारीमा भुक्तानि गर्न बाँकी छ । चिनी मिलले भने उखुको मूल्य घटाएर सरकारलाई थोरै रकम मात्रै भुक्तानि दिन बाँकी रहेको भन्दै झुठो विवरण दिइरहेका उखु किसानले आरोप लगाएका छन् ।

अघिल्ला वर्षहरुकै भुक्तानि नदिने अन्नपूर्ण र महालक्ष्मी दुवै चिनी मिल यो वर्ष पुनः सञ्चालनको तयारीमा छन् । सर्लाहीका तीनवटा चिनी मिलमध्ये इन्दुशंकर चिनी मिल हनिवनमा उखु बेचका किसानबाट भने यस्तो गुनासो आएको छैन् । इन्दुशंकरले पछिल्लो समय किसानको भुक्तानिमा यस किसिमको समस्या गरेको छैन् ।