आत्मघाती गोलले लाफालाई उपाधी

बिजेता लाफा युवा क्लब मिलनचौकको टिम । तस्बिर सौजन्य : राजु तामाङ

बागमती – सर्लाहीको बागमती नगरपालिका–४, नयाँबस्तीमा आयोजित प्रथम नयाँबस्ती कप फुटबल प्रतियोगिताको उपाधी लाफा युवा क्लब मिलनचौकले उचालेको छ ।

फाइनलमा बिहिवार जनसहयोगी युवा क्लब सासापुरलाई १–० गोलले पराजित गर्दै लाफा बिजेता भएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आत्मघाती गोलले नै जनसहयोगीलाई उपाधीबाट चुकायो । ७० औँ मिनेटको खेलमा अन्तिम समय ६८ औँ मिनेटमा लाफाका क्याप्टेन सुन्दर रानाको सशक्त प्रहारलाई रोक्न खोज्दा जनसहयोगीका डिफेन्सबाट आफ्नै पोष्टमा गोल हुन पुगेको हो ।

जितसँगै लाफाले नगद २० हजार र पहिलो शिल्ड उचाल्यो भने उपबिजेता भएको जनसहयोगीले १० हजार नगद र दोस्रो शिल्डमा चित्त बुझाउनु प¥र्यो । आजको खेलको म्यान अफ दि म्याच जनसहयोगीका आषिश खाती, प्रतियोगिताभरकै वेष्ट प्लेयर आयोजक नयाँबस्ती युवा क्लबका सन्देश मोक्तान, वेष्ट गोलकिप्पर लाफाका प्रशान्त मोक्तान र लाफाकै अन्मेश बाँनिया बढी गोलकर्ता बने ।

प्रतियोगिताका बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले पुरस्कार वितरण गर्नुभएको सञ्चारकर्मी राजु तामाङले जानकारी दिए । नयाँबस्ती युवा क्लबका अध्यक्ष अर्धमान सिङतानको अध्यक्षतामा आयोजित प्रतियोगिताको समापन एवं पुरस्कार वितरण समारोहमा ४ नम्वर वडाका वडाध्यक्ष कृष्णकुमार लामा, सशस्त्र प्रहरी धरहराका इन्सपेक्टर जयन्त केसी लगायतको आतिथ्यता रहेको थियो ।


कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकका दुईवटा टिमसँगै २२ वटा क्लबले सहभागिता जनाएका थिए ।