१५० बढी कम्युनिष्ट कार्यकर्ता प्रवेश गरेको कांग्रेसको दाबी

गुम्बाटोलमा आयोजित शुभकामना आदान प्रदान एवं पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरु । (तस्बिर : उज्यालो अभियान)

राजघाट – नेपाली कांग्रेसले बागमती नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट १५० जना भन्दा बढी नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेकोे दाबी गरेको छ ।

मंगलबार साँझ बागमती नगरपालिका–६ गुम्बा टोलमा सम्पन्न शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका १५० जना भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सर्लाहीकी नेतृ सोनी बम्जनले जानकारी दिईन् । नेपाली कांग्रेस सर्लाही–काठमाडौं सम्पर्क समितिको आयोजना रहेको कार्यक्रममा पुर्व मन्त्री एवं कांग्रेस नेता गोबिन्द बहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो भने रामहरि खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा हरेश महतो, प्रदेश सांसद् बीरेन्द्र प्रसाद सिंह, पेमा योन्जन, महिला नेतृ मैया बस्नेत लगायतको समेत आतिथ्यता रहेको थियो । विशेष गरी बोट र तामाङ समुदायबाट बढी प्रवेश भएको बम्जनले जानकारी दिईन् ।

यसैबीच आज (बुधबार) दिउँसो बसबरिया गाउँपालिका अन्तर्गत धनगढामा वृहद् पार्टी प्रवेश कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ । उक्त कार्यक्रममा पनि पूर्व मन्त्री गोविन्द शाह, नेता रामहरि खतिवडा लगायतका नेताहरु जाने बताईएको छ ।

त्यस्तै नेपाली कांग्रेसका नेताहरुले मंगलबार नै एक क्लबलाई खेल सामग्री प्रदान गरेका छन् । हविन नगरपालिका–११ स्थित प्याराडाइज क्रिकेट टिमलाई जर्सी तथा खेलकुद सामाग्री प्रदान गरिएको हो । खेल सामग्री प्रदान कार्यक्रममा कांग्रेस नेता एवं पूर्व जिल्ला उपसभापति विनोद खनाल, प्रजातान्त्रिक समाजका केन्द्रीय सदस्य एवं सर्लाही अध्यक्ष रामहरि न्यौपाने, नेताहरु नरेन्द्र भट्टराई, विनोद कार्की, विद्यार्थी नेता रघु कार्की लगायतको उपस्थिती रहेको थियो ।