देउसी भैलो नखेल्न सर्लाही प्रशासनको आग्रह

मलंगवा – सर्लाहीमा स्थानीय प्रशासनले यो वर्ष तीहारमा देउसी भैलो नखेल्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले मंगलबार सूचना निकालेर देउसी भैलो जस्ता कार्यक्रमहरुको आयोजना गर्दा एक अर्काको घरमा गई कोरोना संक्रमणको जोखिम बढ्न जाने हुँदा त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो । यस्तै पवित्र छठ पूजाको लागि व्रतालु घाटमा जाँदा व्रतालुको साथमा परिवारका सदस्य बढीमा दुई जना मात्रै सहयोगीको रुपमा जान पनि कार्यालयले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हस्ताक्षर गरेको सूचनामा जिल्लाभित्र अनुमति नलिई कुनै पनि मेला, महोत्सव नगर्न तथा व्यापारिक केन्द्रहरुमा भीडभाड नगर्न भनिएको छ । तर जिल्लामा मेला महोत्सवहरु लागि नै रहेका छन् भने बजारमा किनमेल गर्नेहरुको थेगी नसक्नु भीड छ ।

यस्तै प्रशासनले आतसवाजी, पटाका, झिरमिरे, भुईचम्पा लगायतका विष्फोटक पदार्थहरुको ओसार, बिक्री वितरण एवं प्रयोग नगर्न र जुवातास लगायत नगद तथा जिन्सी हारजित हुने खालका जुवाजन्य खेल नगराउन आग्रह गरेको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न स्थानीय प्रशासनले पटक–पटक यस्ता निर्णयहरु गरेपनि कार्यान्वयन भने फिटिक्कै हुने गरेको छैन् । जिल्लामा दुई महिना भन्दा बढी समयदेखि कोरोना परीक्षण ठप्प छ भने मानिसहरु हेलचेक्याँई गरेर खुलेयाम हिँडिरहेका छन् ।