काँग्रेसले कात्तिक २३ गते मलंगवामा प्रदर्शन गर्ने, महेन्द्र रामको शव एक महिनादेखि अस्पतालमै

मृतक महेन्द्र रामलाई शहिद घोषणा, १० लाख क्षतिपूर्ती, किटानी जाहेरी दर्ता गरी दोषिलाई यथाशिघ्र पक्राउ गर्न माग गर्दै कांग्रेसले असोज २८ गते मलंगवामा गरेको प्रदर्शन । (फाइल तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपाली काँग्रेसले सर्लाही रामनगरको घटनालाई लिएर आगामी आइतवारबाट फेरि आन्दोलन थाल्ने भएको छ ।

रामनगर गाउँपालिका–७, सिसौट निवासी आफ्ना कार्यकर्ता महेन्द्र रामको हत्याको घटनामा परिवारले भनेका व्यक्तिहरु विरुद्ध जाहेरी दर्ता हुनुपर्नेे, मृतकलाई शहीद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै कात्तिक २३ गते आइतवारबाट दोस्रो चरणको आन्दोलन सुरु गर्न लागिएको हो । यस्तै दशैँअघि यी मागहरु राखी मलंगवामा प्रदर्शन गर्दा असभ्य शब्द बोलेको भन्दै जिल्ला प्रहरी प्रमुख र दुव्र्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपीको सरुवा समेत हुनुपर्र्ने काँगे्रस ४ नं. क्षेत्रका नेताहरुले माग राखेका छन् ।

असोज २८ गते रामनगर घटनालाई लिएर मलंगवामा प्रदर्शन गरिँदा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा दुवैतर्फ गरी चार दर्जन बढी घाईते भएका थिए । आन्दोलनको नेतृत्व गर्दै आउनु भएका काँग्रेस नेता एवं संघीय सांसद डाक्टर अमरेशकुमार सिंहले ‘चलु मलंगवा, भरु मलंगवा’ भन्ने नारासहित आइतवार मलंगवामा ठूलो संख्यामा नेता कार्यकर्ता उतार्ने तयारी गरिएको जानकारी दिए ।

४ नम्वर क्षेत्रका काँग्रेस नेताहरुले कात्तिक २ गते धनकौलस्थित काँग्रेस नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहको घरमा पत्रकार सम्मेलन गरी दशैँपछि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका थिए । प्रदेश सभा सदस्य सिंहले अब माग पूरा नहुन्जेल आन्दोलन चर्काउँदै लाने बताए ।

मृतकलाई शहीद घोषणा, पीडित परिवारलाई राहत, परिवारले भनेका व्यक्तिहरु विरुद्ध जाहेरी दर्ता लगायतको माग राखेर दोस्रो चरणको आन्दोलनको तयारी भइरहँदा महेन्द्र रामको शव भने असोज २२ गतेदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै छ । गाउँकै केही मानिसको कुटपीटबाट मृत्यु भएका महेन्द्रको शव बुझ्न परिवारले अस्वीकार गर्दै आएका छन् ।

यता प्रहरीले घटनामा संलग्न रहेका ३ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको बताउँदै आएको छ । काँग्रेस नेताहरुले घटनामा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई जोगाउने गरी उनीहरुविरुद्ध जाहेरी नलिएको बताउँदै आएका छन् । तर प्रहरीले भने राजनीतिक स्वार्थ पूरा गर्ने गरी निर्दोष कसैमाथि पनि जाहेरी नलिने अडान लिरहेको छ ।