सिकाइको लागी शिक्षक–विद्यार्थी सम्बन्ध

– गिरीराज राना

घटना १ : सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १४ मा रहेको जनता माध्यमिक विद्यालय श्रीनगरमा कार्यरत शिक्षक माथि कुटपीट भयो । अघिल्लो वर्ष माघ २७ गते सरस्वती पूजाको दिन विद्यार्थीहरु बीच भएको विवादको विषयलाई लिएर फागुन १ गते गाउँका केही विद्यार्थी र अभिभावकहरु जबरजस्ती विद्यालयमा प्रवेश गरेर प्रधानाध्यापक लगायतका केही शिक्षक माथि हातपात गरेका थिए । शिक्षकहरु माथि कुटपीट भएको घटना पछि उक्त विद्यालयमा केही समय पठनपाठन ठप्प भएको थियो ।


घटना २ : गत असोजमा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कम नम्बर दिएको भन्दै अविभावककै नेतृत्वमा विद्यार्थीले शिक्षक माथि आक्रमण गरेका थिए । सिन्धुली, सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा कम नम्बर दिएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका थिए ।
घटना ३ : धरान–२ स्थित शिक्षा निकेतन स्कुलका प्रधानाध्यापक उमेश गुरागाईँ माथी विद्यार्थीले आक्रमण गरे । कक्षा ७ मा अध्ययन गर्ने एक छात्रले शौचालयमा चुरोट खादै गरेको अवस्थामा स्कुल अगाडीका पसलेले फेला पारेपछि विद्यार्थीलाइ समातेर प्रअ कार्यकक्ष पु¥याएका थिए । प्रअ गुरागाइले सोधपुछ गर्दा आफुले घरबाटै चुरोट ल्याएको विद्यार्थीले बताएका थिए । स्कुल बिदा भएर बाहिर निस्कदै गर्दा अचानक पछाडिबाट उनै विद्यार्थीले आक्रमण गरेका थिए ।
माथी उल्लेखित परिदृष्यहरुमा शिक्षक विद्यार्थी बिचको सम्बन्धमा दरार आए पछि त्यस्ता घटना भएको देखिन्छ । शिक्षक विद्यार्थी बिच सुमधुर सम्बन्ध अहिलेको अपरिहार्यता हो । सम्बन्ध सुमधुर हुन सके मात्रै शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी रूपमा अगाडी बढ्ने देखिन्छ ।
विद्यालय शिक्षण सिकाइको सुन्दर मन्दिर हो । त्यसो त यो धर्ती नै विद्यालय हो र हामी सबै विद्यार्थी हौँ । हामी बाहेकका सबै हाम्रा शिक्षक हुन् भन्दा केही फरक पर्दैन । हाम्रो जीवनको सिकाइ प्रक्रिया जीवनपर्यन्त चलिरहन्छ । त्यसैले विद्वानहरूले ‘लर्निङ इज अ लाइफ लङ प्रसेस’ भनेर स्पष्ट पारेका छन् ।
शिक्षण संस्थाबाट वा स्वध्ययनबाट हासिल गरिने ज्ञान, पढाइद्वारा आर्जन गरिने बुद्धि, कुनै विषय बारे वर्णन वा विवेचना गरिएको शास्त्र, विज्ञान विद्या हो । पढ्ने र पढाउने ठाउँ, पाठशाला, स्कूल आदि विद्यालय हुन् । विद्यालय शब्द विद्या र आलय दुई शब्द मिलेर बनेको छ । विद्या भनेको ज्ञान हो भने आलय भनेको घर, गृह, वासस्थान, आश्रम, सहारा, ठाउँ, स्थान हुन् । निचोडमा भन्नु पर्दा ज्ञान आर्जन गर्ने स्थान विद्यालय हो ।
विद्यालयमा शिक्षक र विद्यार्थी हुन्छन् । शिक्षकले ज्ञान दिन्छन् भने विद्यार्थीले ज्ञान प्राप्त गर्दछन् । कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक, अध्यापक, संगीतकला आदि सिकाउने व्यक्ति, उस्ताद, गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति, आचार्य, बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ वा आदरणीय वा पुज्य व्यक्ति, मान्यजन गुरु हुन् । यस्ता पुजनीय गुरुहरुको सानिध्य विद्यालयमा गएर नियमित रूपमा विद्या (ज्ञान) आर्जनमा लागिरहने व्यक्ति, शिक्षण संस्थान अध्ययनरत व्यक्ति छात्र/छात्रा शिष्य (विद्यार्थी) हुन् । विद्यालयहरू ज्ञान आर्जनका लागि स्थापना गरिएका मन्दिर हुन् ।


माथी प्रयोग भएको शब्द शिक्षकलाई अझ विस्तृतमा बुझ्न यसरी पनि सकिन्छ, ‘शि’ ले शिखरमा लैजाने मान्छे , ‘क्ष’ ले क्षमा गर्ने ब्यक्ति र ‘क’ ले कमजोरी दूर गर्ने ब्यक्तिलाई पनि जनाउँन सकिन्छ । नेपाली बृहत् शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छ, शिक्षक ः ‘शि’ को अर्थ शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु वा मास्टर ।
त्यसैगरि विद्यार्थी ‘विद्या’ र ‘अर्थी’ मिलि बनेको शब्दको शाब्दिक अर्थ ज्ञान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ । विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, तर जो कलेजमा गएर सिकिरहेका छन् तिनीहरू पनि हुन सक्छन् । विद्यार्थीको लागि अर्को शब्द शिष्य हो । सामान्यतया, विद्यार्थीले शिक्षकहरूसँग सिक्ने गर्दछन् ।
इन्जिनियरले बाटो बनाउँदा जसरी नक्सा बनाई एउटा सुन्दर बाटोको परिकल्पना गरी बाटो निर्माण गर्छन् । त्यसैगरी विद्यार्थीको उज्यालो भविष्य परिकल्पना गरी एउटा सुन्दर बाटो बनाइदिने प्रेरणाका स्रोत हुन् शिक्षक र त्यो बाटोमा हिँडी आफ्नो भविष्य उज्ज्वल बनाउने व्यक्ति हो–विद्यार्थी ।
नङ र मासुको सम्बन्ध भएको शिक्षक र विद्यार्थी दुवै एक–अर्काबिना अधुरा हुन्छन् । कसैले ठीकै भनेका थिए–विद्यालय मन्दिर हो र शिक्षक त्यहाँका भगवान् अनि विद्यार्थी दिनहुँ त्यहाँ पुगेर आशीर्वाद अर्थात् विद्या आर्जन गर्छन् । विद्यार्थीका बारेमा हरबखत सोचिरहने शिक्षकहरू विद्यार्थीलाई पढ्दा सहज हुने उपाय सोचिरहेका–खोजिरहेका हुन्छन् । त्यसैले विद्यार्थीले पनि आफ्नो कर्तव्य पूरा गर्न कत्ति पनि चुक्नु हुँदैन र दुवैतिरबाट समझदारीको तौल बराबर बनाउनुपर्छ ।
यदि विद्यार्थीको कमी–कमजोरी भए शिक्षकले उसलाई सुधार्ने बाटोतर्फ लानुपर्छ । हामी कसैले यो कुरा भुल्नु हुँदैन कि शिक्षा र स्वास्थ्य हरेक व्यक्तिको मौलिक अधिकार हो र यस्ता चिजबाट कोही पनि वञ्चित हुनु हुँदैन ।
नेपालको संविधानमा उल्लेखित बालबालिकाको हक–अधिकार अनुसार कुनै पनि बालबालिकालाई मानसिक एवं शारीरिक यातना दिन पाइनेछैन । तसर्थ शिक्षकले आफू पनि साथीजस्तै भै विद्यार्थीका लागि घुलमिल हुने सहज वातावरण सिर्जना गर्नुपर्छ अनि मात्र त्यो विद्यालय मन्दिरको पर्यायवाची हुनेछ ।
गुरु र विद्यार्थीको सकारात्मक अनि साथीजस्तो व्यवहारले दुवैलाई सहज बनाउँछ र त्यसको सकारात्मक परिणाम आउने कुरामा दुईमत हुँदैन । एक खोजअनुसार शिक्षक र विद्यार्थी दुवैको सकारात्मक सम्बन्धले विद्यार्थीको शैक्षिक मात्र नभएर सामाजिक पक्ष पनि पोजिटिभ हुन्छ । अतः विद्यार्थीको हितका लागि लागिपर्ने शिक्षक हामी विद्यार्थीहरूका पथप्रदर्शक अर्थात् मार्गदर्शक हुन् र यी दुवै पक्षको सुमधुर सम्बन्धबाटै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ ।
जे होस्, जहाँ सिकाइको काम हुन्छ, त्यहाँका मुख्य सरोकारवाला भनेका सिकाउने र सिक्ने मानिसहरू नै हुन् । चाहे त्यो अनौपचारिक सिकाइ होस्, चाहे विद्यालय वा विश्वविद्यालयहरूको औपचारिक सिकाइ नै किन नहोस्, सिक्ने र सिकाउनेबीचको सम्बन्धकै आधारमा सिकाइको प्रभावकारिता कम वा धेरै हुने कुरा निर्धारित हुन्छ । सिक्ने र सिकाउनेका बीचको सम्बन्ध जति सुमधुर, सन्निकट र सद्भावपूर्ण हुन्छ, सिक्नेले पनि धेरै सिक्न पाउँछ भने, सिकाउनेले पनि अत्यन्त उत्साह र ऊर्जाका साथ सिकाउन पाउँछ ।
शिक्षक र विद्यार्थी एक अर्कासँग सम्बन्धित छन् । शिक्षक बिना विद्यार्थीको अस्तित्व रहँदैन र विद्यार्थी बिना शिक्षकको अस्तित्व रहँदैन । शिक्षक र विद्यार्थी नै यो देशका असली आधार स्तम्भ हुन् । विद्यार्थीहरू घर हुन् भने शिक्षक उक्त घर निर्माण गर्ने मिस्त्री हुन् । तसर्थ शिक्षक र विद्यार्थी बिचमा नङ र मासुको जस्तो घनिष्ट सम्बन्ध हुनुपर्छ र हुनुपर्ने हो तर यथार्थमा यस्तो घनिष्ट सम्बन्ध कायम रहेको पाइदैन ।
अहिलेको समयमा शिक्षक र विद्यार्थी आ–आफ्नै स्वार्थमा मात्र केन्द्रित भएका छन् अर्थात् विभाजित भएका छन् । वर्तमान समयमा अध्ययन तथा विश्लेषण गर्ने हो अधिकांश शिक्षकहरूमा आर्थिक स्वार्थ रहेको पाइन्छ । जसले गर्दा शिक्षकले केवल आर्थिक पक्षलाई मात्र बढी ध्यान दिने भएकाले शिक्षाको गुणस्तर पनि दिनप्रतिदिन खस्किदै गइरहेको छ भन्न सकिन्छ । अब शिक्षक आर्थिक पक्षमा बढी केन्द्रित हुन थालेपछि शिक्षकलाई विद्यार्थीको वास्तविक भविष्य निर्माणकर्ता भन्दा पनि आफ्नो र आफ्नो परिवारको निर्माणकर्ता भनेर सम्बोधन गर्दा कुनै गलत नहोला तर सबै शिक्षकलाई यसरी सम्बोधन गर्न चाहिँ मिल्दैन किनकि थोरै मात्रामा अर्थात् सीमित भए पनि आफ्नो पेशा प्रति जिम्मेवारीवार वास्तविक शिक्षक अझै पनि हुनुहुन्छ ।
त्यसैगरी विद्यार्थीहरू पनि आफ्नो स्वार्थ पुरा गर्नका लागि अध्ययन गरिरहेका छन् । विद्यार्थीहरू पास हुनका लागि अर्थात् शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि मात्रै अध्ययन गरिरेहका छन् । शायद यस्तो विद्यार्थी नै भेटिदैन होला यहाँ जो केवल शैक्षिक प्रमाणपत्र हासिल गर्नका लागि मात्र नभई ज्ञानका लागि र जिन्दगी जिउनका लागि अध्ययन गरिरहेको होस् । (शायद सिनेमामा मात्रै भेटिन सक्छ होला), वर्तमान समयमा ज्ञानको भन्दा पनि देखावटी कागजी सर्टिफिकेटको महत्व बढी रहेको पाइन्छ । कसैले भन्न सक्छ ज्ञानको महत्व बढी छ भनेर तर त्यो त केवल भ्रम मात्रै हो किनकि व्यवहारमा जहाँ पनि सर्टिफिकेट नै हेर्ने गरिएको पाइन्छ । यदि हातमा सर्टिफिकेट छैन भने जहाँ गए पनि रिजेक्ट हुनुपर्छ किनकि यहाँ सर्टिफिकेट बिनाको ज्ञानको कुनै औचित्य नभएको कुरा सबैलाई प्रष्ट रुपमा थाहा नै छ । यसर्थ पनि हुन सक्छ विद्यार्थीहरू सर्टिफिकेटमा मात्र बढी केन्द्रित हुने भएकाले शिक्षाको गुणस्तर कमजोर भइरहेको छ ।
शिक्षक र विद्यार्थी आ–आफ्नै स्वार्थमा दौडिएपछि शिक्षक र विद्यार्थी बिचमा घनिष्ट सम्बन्ध कायम रहने त कुरै भएन । कतिपय ठाउँहरूमा त शिक्षक र विद्यार्थी विचमा द्वन्दको पनि सिर्जना भइरहेको पाइन्छ । जुन हामीले माथि चर्चा गरि सक्यौं । संबेदनशील तथा जिम्मेवारीका साथ शिक्षकले नपढाउने र विद्यार्थीले पनि जिम्मेवारीवारीका साथ जिन्दगी जिउनका लागि नपढ्ने भएकाले शिक्षक र विद्यार्थी विचको सम्बन्धमा खोट लाग्दै गइरहेको छ ।
त्यति हुँदाहुँदै पनि शिक्षक नै त्यो एक कडी हो जसको उपस्थितिबिना सिकाइको वातावरण तयार हँदैन । सिकाइलाई प्रभावकारी र दिगो बनाउने कुरा शिक्षक र विद्यार्थीबीचको सम्बन्धको दूरीले निर्धारण गर्दछ । उत्तर आधुनिक शिक्षामनोविद्हरू शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर र मजबुत भयो भने मात्रै शिक्षण सिकाइ प्रभावकारी र दिगो हुन्छ भनी विश्वास गर्दछन् । विगत केही दशक यता शिक्षक विद्यार्थी बीचको न्यानो सम्बन्धको बारेमा विभिन्न अध्ययनहरू भएका छन् । विद्यार्थीको विद्यालयसँगको सम्बन्ध, सामाजिक उत्तरदायित्वको भावनाको विकास, उनीहरूका व्यवहारजन्य समस्याहरूको मात्रामा कमी, पढाई प्रतिको लगाव तथा सिकाइ उपलब्धिमा उल्लेख्य सुधार ल्याउनमा यो सम्बन्ध सहयोगी भएको प्रमाणित भइसकेको छ । एक थरी शिक्षाविद्हरू ‘शिक्षक र विद्यार्थी बीच जति नजिकको सम्बन्ध रहन्छ सिकाइको प्रभावकारिता पनि बढी हुन्छ’ भन्ने कुरामा विश्वास गर्छन् ।
शिक्षक र विद्यार्थीको बीच सकारात्मक सम्बन्ध विकास गर्नु गुणस्तरीय शिक्षण र विद्यार्थीको शिक्षाको मौलिक पक्ष हो । शिक्षक–विद्यार्थीको सकारात्मक सम्बन्धले विद्यालयको स्वामित्वको भावना जगाउँछ र विद्यार्थीलाई हरेक क्रियाकलापमा भाग लिन प्रोत्साहित गर्दछ । शिक्षक र विद्यार्थीले धेरै जसो समय एक साथ विताउने भएकाले विद्यार्थीहरू हरेक कुरामा आफ्ना शिक्षकसँग निर्भर हुन्छन र शिक्षकलाई आफ्नो प्रेरणाको पात्रको रूपमा लिने गर्छन् । प्रभावकारी शिक्षाको लागि दुवै जनाको सम्बन्ध राम्रो हुनु एकदमै आवश्यक छ । त्यसैगरी विद्यार्थीको पढाइमा मात्रै नभएर एउटा विद्यार्थी सफल र सक्षम हुनुमा शिक्षकको निकै ठुलो लगानी हुन्छ ।
विद्यालयमा ज्ञान आर्जन गर्न जाने बालबालिका विद्यार्थी हुन् । बालबालिकाको संरक्षण, पालन पोषण गर्ने व्यक्ति अभिभावक हुन् भने बालबालिकालाई पढाएर सफल बनाउने व्यक्ति शिक्षक हुन् । अभिभावक भनेको एक विद्यार्थीको पहिलो शिक्षक भएजस्तै प्रेरणाको स्रोत र उज्वल भविष्यको गोरेटो बनाउने अनि चम्किलो भविष्य निर्माण गरिदिने काम शिक्षकको हुन्छ । विद्यार्थी र शिक्षक एक अर्काका परिपूरक हुन् । यी दुवै एक अर्का बिना अपूरो हुन्छन् ।
शिक्षक र विद्यार्थीको सम्बन्ध राम्रो भए मात्र एक विद्यार्थीले सफलता हासिल गर्न सक्छ । सर्वप्रथम शिक्षक र विद्यार्थीबीच कक्षाकोठामा दोहोरो संवाद हुनु आवश्यक छ । एउटै कक्षा कोठामा बसेर पछि शिक्षकले पढाएको विषयमा विद्यार्थी प्रश्न गर्ने र दुवै जनाले एक अर्कासँग सक्दो संवाद गर्ने गरेमा पढाइ प्रभावकारी हुन्छ । विद्यार्थीले कुनै पनि कुरा जिज्ञासा दिएर पढ्न थाले र प्रश्न गर्न थाले भने शिक्षकले पनि त्यसै अनुसार तयारी गरेर आउँछन् र दुवै जनाको ज्ञान बढ्न सक्छ ।
शिक्षक र विद्यार्थीको बीच सम्मानको भावना एकदमै आवश्यक छ । विद्यार्थी भएर आफ्नो शिक्षकलाई आदर सत्कार गर्नु उसको कर्तब्य हो र त्यसैगरी यो नियम शिक्षकलाई पनि लागु हुन्छ । आफूले पढाउने विद्यार्थी सबैलाई आदरका साथ व्यवहार गर्नुपर्छ । विद्यार्थीलाई हेपेर भन्दा पनि माया र आदरका साथ पढायो भने शिक्षक र विद्यार्थी बिचको सम्बन्ध राम्रो हुँदै जान्छ । शिक्षक र विद्यार्थीले एक अर्काको कुरा सुन्नुपर्छ । शिक्षकले कक्षाकोठामा पढाइ रहेको बेलामा विद्यार्थीले शिक्षकले पढाएको कुरा जिज्ञासा र ध्यानका साथ सुन्नुपर्छ । त्यसैगरी शिक्षकले पनि विद्यार्थीको कुरा सुन्नु त्यति नै महत्व छ । दुवै जनाको बिचको सम्बन्धलाई राम्रो रूपमा स्थापित गर्न सक्यौँ भने पढाइको स्तर राम्रो हुँदै जान्छ ।
त्यसैगरी दुवै जना शिक्षक र विद्यार्थी बीच सहकार्य हुनु एकदमै आवश्यक छ । शिक्षकले पढाउने र विद्यार्थीले ज्ञान लिने राम्रो वातावरण बनाउनमा दुबै जनाको हात हुन्छ । शिक्षकले आफू ठूलो ठान्ने, विद्यार्थीलाई हेप्ने जस्तो व्यवहारले कसैलाई पनि राम्रो हुँदैन त्यसैले शिक्षकले विद्यार्थीलाई माया र विद्यार्थीले शिक्षकलाई सम्मानको साथ दुुवै जना मिलेर शिक्षालाई अगाडि बढाउन सकिन्छ ।
शिक्षण प्रक्रिया प्रभावकारी र उपलब्धिमुलक हुनका लागी औपचारिक मात्र नभएर अनौपचारिक तवरमा विद्यार्थी र शिक्षकबिच निकट को सम्बन्ध हुन नितान्त जरुरी छ । एउटा शिक्षकबाट विषयवस्तुसँग सम्बन्धित अलावा शिक्षकको व्यक्तित्व र व्यवहारसँग पनि विद्यार्थी प्रभावित हुने गर्दछ । कति अनौपचारिक वार्तालाप र छलफलले पनि विद्यार्थीलाई सिकाइमा प्रोत्साहित गराउने गर्दछ । कुनै दिन म पनि विद्यार्थी थिए ,यस्तै र यहि अवस्था पार गरेर मात्र आज शिक्षक भए भन्ने भावनाको विजारोपन गरेर विद्यार्थीलाई मित्रवत व्यवहार देखाउन सकियो भने पक्कै विद्यार्थी कुपोषित भएर रहन पर्दैन । तर आत्मीयता ,दया र अनुरोधका नाममा अध्ययन र अध्यापनको गुणस्तर एवम् प्रक्रियामा ह्रास आउन भने हुँदैन । हरेक कुराको सिमा, उत्पतिस्थल वा उत्पत्ति समयदेखी नै निर्धारित हुन्छ, त्यस्तै विद्यार्थी र शिक्षक बिचको सम्बन्ध को सिमा । एउटा जिम्मेवार र उत्तरदायी शिक्षकले जुनसुकै परिस्थितिमा पनि विद्यार्थीलाइ झुठ, छलकपटको पाठ भने पढाउन सक्दैन । अतः विद्यार्थी र शिक्षकमा गुरु र चेलाको मात्र सम्बन्ध नभएर एउटा अभिभावक वा साथिको सम्बन्ध कायम हुन जरुरी छ ।
शिक्षक र विद्यार्थी पनि एकै रथका दुई पांग्रा हुन भन्दा कुनै फरक पर्दैन । विस्तृत रुपमा अध्ययन गर्ने हो भने यो देशको अस्तित्व नै शिक्षक र विद्यार्थी हुन् किनकि देशका लागि चाहिने हरेक किसिमका जनशक्ति केवल शिक्षक र विद्यार्थी बाटै उत्पादन हुने गर्दछन् । विद्यालय एक पवित्र मन्दिर हो जहाँ सरस्वती माता अर्थात विद्याको दर्शन गर्न र केही सिक्नका लागि शिक्षक र विद्यार्थी आउने गर्छन् । शिक्षक र विद्यार्थी नै यो देशका अभिन्न अंग हुन् भन्ने कुरामा दुई मत छैन । जो शिक्षक आफ्नो पेशाप्रति जिम्मेवारीवार र गम्भीर भई इमान्दारितापूर्वक विद्यार्थीको भविष्य निर्माणका निम्ति कटिबद्ध हुन्छन्, उनिहरूप्रति हृदय देखि नै सबैले उच्च सम्मान गर्छन् ।
ती तमाम शिक्षकहरुको असल र मायालु व्यवहारले शिक्षण सिकाइमा ठूलो महत्व राख्दछ । शिक्षक मात्रै एक यस्तो कडी हो जसले सिकाइलाई सम्भव बनाउँछ । विशेष गरी तल्लो कक्षाका विद्यार्थीमा यो सम्बन्ध अझ मजबुत हुन्छ । उनीहरू शिक्षकलाई आफ्नो अन्तिम आदर्श तथा ज्ञानको स्रोत ठान्दछन् । त्यसैले यो उमेरमा उनीहरूले शिक्षक प्रति विकास गर्ने अवधारण वा शिक्षकको चित्रले नै भविष्यको शिक्षण सिकाइलाई प्रभाव पार्दछ ।
हामी हाम्रा कक्षाकोठालाई पूर्ण आदर्शवान् बनाउन नसके पनि विद्यार्थीसँगको सम्बन्ध सौहार्द बनाउन प्रयत्नरत रहौं । कम्तीमा विद्यार्थीले कक्षाकोठाको वातावरण सुरक्षित र आफूलाई घुलमिल हुन सक्ने तथा आफूमा निहित ज्ञानको विकास हुन सक्ने बनोस् । अनि मात्र शिक्षण सिकाइ दिगो र प्रभावकारी हुन्छ नत्र भने यो एउटा प्रभाविहीन नाटकको मञ्चन बाहेक केही हुने छैन । फेरी पनि माथि उल्लेख गरिएका घटनाहरु दोहोरिन सक्छन् । त्यसको लागि शिक्षक विद्यार्थी सम्बन्ध सुमधुर हुनैपर्छ । (लेखक राना श्री महादेव जनता नमूना मावि हरिवनका शिक्षक हुन्)