पर्यटक आकर्षित गर्न फनपार्क बनाउँदै बाग्मती नगरपालिका

बाग्मती नगरपालिकाले बनाएको लागेको फनपार्कको डिजाईन ।

बाग्मती – सर्लाहीको बाग्मती नगरपालिका–११ वुद्ध शान्ति तपोवनमा फनपार्क निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।

जिल्लाकै ऐतिहासिक यस ठाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिका कार्यालयले फनपार्क निर्माण गर्न लागेको हो । एक वर्षभित्रै निर्माणको काम पूरा गर्ने गरी गौरी पार्वती सुनकोसी धुलिखेल जेभि नयाँ बाँनेश्वर काठमाण्डौंले मंगलावर ठेक्का सकार गरेको बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए ।

नगर प्रमुख थापाका अनुसार पर्खाल निर्माण लगायत केही काम बाहेक १७ करोड रुपैयाँमा झण्डै ९० प्रतिसत काम गर्ने गरी ठेक्का सम्झौता भएको हो । नगरपालिकाले फनपार्क, आफ्नो गौरवको योजना रहेको बताएको छ । फनपार्क निर्माण भएपछि स्थानीय कला संस्कृतिको संरक्षणसँगै आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख थापाको भनाई छ ।

फनपार्कमा अतिथि गृह, स्वीमिङ पुल, पिकनिक स्पट, होटल लगायतका संरचना निर्माण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार फनपार्क बनेपछि बाग्मती नदीमा बोटिङको व्यवस्था गर्ने योजना छ ।

पूर्व–पश्चिम राजमार्गस्थित बाग्मतीबाट दुई किलोमिटर उत्तरमा बन्न लागेको फनपार्कको २०७५ साल वैशाख १३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शिलान्यास गरेका थिए । निर्माण स्थलको छनौट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रिया लगायतले फनपार्क निर्माणमा केही ढिला भएको नगर प्रमुख थापाले जानकारी दिए ।