सर्लाहीमा दुर्गा पूजाको मूर्ति विसर्जन कार्य शान्तिपूर्ण

सर्लाहीको श्रीनगरमा बनाइएको दुर्गाको मूर्ति । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाको मूर्ति विसर्जन कार्य मंगलवार राती अबेरसम्ममा शान्तिपूर्ण किसिमले सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको ६० भन्दा बढी स्थानमा दुर्गा पूजाको मूर्ति नजिकैको जलाशयमा लगेर विसर्जन गरिएको हो । मूर्ति विसर्जनका क्रममा एक अर्का समुदायबीच तनाव उत्पन्न हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले कुनै अप्रिय घटना हुन नपाएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।

मूर्ति विसर्जनको विषयलाई लिएर यसअघि तनाव तथा झडप भएका स्थानहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो । गत असोजमा मात्रै विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्दा झडप भएको सदरमुकाम मलंगवामा प्रहरी निरीक्षक (इन्सपेक्टर) कै कमाण्डमा प्रहरी परिचालन गरिएको थियो ।

मूर्ति विर्सजन गर्न लाँदा प्रयोग गरिने सडक र जलाशयको प्रयोगको विषयमा बर्सेनि जसो विवाद हुने भएकाले प्रहरी प्रशासनलाई टाउको दुखाईको विषय बन्दै आएको छ ।