ट्याक्टरको ठक्करबाट मृत्यु भएका युवकको शव राजमार्गमा राखेर प्रदर्शन

मृतकको शव अन्त्येष्टिका लागि लखन्देही खोलामा लाँदा जम्मा भएका गाउँलेहरु । तस्बिर सौजन्य : सांसद प्रमोद साहको फेसबुकबाट

नवलपुर – सर्लाहीको नवलपुरमा ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएका युवकको शव राजमार्गमा राखेर आज (मंगलवार) दिउँसो केहीबेर प्रदर्शन गरिएको छ ।

सोमवार राती नवलपुर–मलंगवा सडक अन्तर्गत नवलपुरको चक्रेश्वर मन्दिर नजिकै नम्वर खुल्न नसकेको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका–२, पुनर्वासका तीन युवक गम्भीर घाईते भएका थिए । त्यसमध्ये १७ वर्षीय अंकुश पासवानको उपचारका क्रममा मंगलवार बिहानपख चितवनको भरतपुरमा मृत्यु भएको परिवारले बताएका छन् ।

मृतकका परिवार र आफन्तले अंकुशको शव यहाँ ल्याएर दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई तत्काल पक्राउ गरी कानुनी कारवाही अघि बढाउन र क्षतिपूर्ति दिन माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित नवलपुर चौकमा प्रदर्शन गरेका हुन् । तत्कालै ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) निर्मल थापा नवलपुर पुगेर ट्याक्टर खोज्न प्रहरी निरन्तर लागि परेको र पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाउने एवं क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि मृतकको शव मंगलवार साँझ लखन्देही खोलामा लगेर परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

प्रहरी निरीक्षक थापाले राती दुर्घटना भए लगत्तैदेखि ट्याक्टरको खोजी गरिरहेको उज्यालो अभियानसँग बताए । ट्याक्टरले ठक्कर दिँदा घाईते भएका पुनर्वासकै निशान्त कुमार पासवान र रितिक रोशन पासवानलाई भरतपुरबाट थप उपचार पश्चात काठमाण्डौं लगिएको स्थानीय शक्तिसिंह पासवानले जानकारी दिए ।

सोमवार राती सबा ८ बजेतिर मेला हेर्न निस्किएका तीन युवक दुर्घटनामा परेका थिए । दशैँकै बेला अहिले जिल्लामा अत्यधिक सवारी दुर्घटना भइरहेका छन् ।

मदिरा सेवन गरेर तीव्र गतिमा मोटरसाइकल दौडाउँदा पूर्व–पश्चिम राजमार्गको तुलनामा भित्री सडकमा अझ बढी दुर्घटना भइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बताए ।