हरिवन बजारदेखि कैलाशपुरीसम्म कालोपत्रे सडक बनाउन पहल गर्छु : श्रममन्त्री यादव

हरिवन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आज (सोमवार) सर्लाहीको हरिवनस्थित कैलाशपुरी क्षेत्रको निरीक्षण गरेका छन् ।

चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न बिजया दशमीको मुख्य दिनमै आयोजना गरिएको कार्यक्रममा सरिक भएका मन्त्री यादवले चुरेक्षेत्रस्थित धार्मिक तथा पर्यटकीय स्थल कैलाशपुरीको पछिल्लो अवस्थाबारे जानकारी लिँदै निरीक्षण गरेका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले हरिवनस्थित पूर्व–पश्चिम राजमार्गदेखि कैलाशपुरीसम्म पुग्ने सडक कालोपत्रे गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

कैलाशपुरी मन्दिर र त्यस आसपासका क्षेत्रको सरसफाई र विकासमा सदैव ध्यान पु¥याउन मन्त्री यादवले युवाहरुलाई आग्रह गरे । सबै लागिपरे कैलाशपुरीलाई प्रदेश २ कै आकर्षक पर्यटकीय स्थल बनाउन सकिने मन्त्री यादवको भनाई छ ।

केही दिनदेखि गृह जिल्ला सर्लाहीमै रहेका मन्त्री यादव विभिन्न कार्यक्रम र भेटघाटमा ब्यस्त छन् । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको बेल्ही गाउँमा घर भएका मन्त्री यादव सर्लाहीको ३ नम्बर क्षेत्रको संघीय सांसद समेत हुन् ।

कैलाशपुरीको कार्यक्रममा मन्त्री यादवद्धारा युवा प्रशान्त मोक्तानले उपलब्ध गराउनु भएको खेलकुद सामग्री क्लबहरुलाई वितरण गरिएको छ ।