दशैँको टीकाकै दिन सर्लाहीका चार स्थानमा मोटरसाइकल दुर्घटना, ८ जना घाईते

सांकेतिक तस्बिर ।

लालबन्दी – दशैँको टीकाकै दिन आज सर्लाहीका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी ८ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार जिल्लाको हरिपूर्वा, हरिपुर, गोडैता र बसबरियामा भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा परी ८ जना घाईते भएका हुन् ।

हरिपूर्वा नगरपालिका–९, मिर्चौयास्थित भित्री सडकमा श्रीनगरबाट बसन्तपुरतर्फ गइरहेको लु २५ प ८८७२ नम्वरको मोटरसाइकल र बीआर ३० एल ९०४६ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा लु २५ प ८८७२ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका १४ का २२ वर्षीय र त्यही मोटरसाइकल पछाडि सवार ईश्वरपुरको वडा नम्वर १३ बस्ने २१ वर्षीय गोलु अन्सारी घाईते भएका छन् । बीआर ३० एल ९०४६ नम्वरको मोटरसाइकलका चालक हरिपूर्वा नगरपालिका ७ का २० वर्षीय हिरेन्द्र राम पनि दुर्घटनामा घाईते छन् ।

यस्तै नवलपुर–मलंगवा सडक अन्तर्गत हरिपुर नगरपालिका २ मा प्रदेश २ –०२– ००२ प ८३७६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री हरिपुर नगरपालिका ८ हात्तिसारका ६१ वर्षीय भगु माझी घाईते भएका छन् ।

यसैगरी गोडैता नगरपालिका ६ स्थित भित्री सडकमा बीआर ३० यू २८३० नम्वरको मोटरसाइकल यात्रुसँग ठक्कर आएर पल्टिँदा तीन जना घाईते भएका छन् । दुर्घटनामा पैदल यात्री गोडैता नगरपालिका ६ बस्न गगनदेव यादवकी छोरी १२ वर्षीया रिंकी कुमारी, मोटरसाइकल चालक धनकौल गाउँपालिका ५ बस्ने २५ वषीय अजय राय र मोटरसाइकल पछाडि सवार चक्रघट्टा गाउँपालिका ८ औरहीका १८ वर्षीय रम्भु कुमार घाईते भएका छन् ।

त्यस्तै मधुवनी–नयाँरोड सडक अन्तर्गत बसबरिया गाउँपालिका–३, स्थित बंगलवा टोलमा बा ३२ प ४१५७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ८ वर्षीया बालिका घाईते भएकी छिन् । दुर्घटनामा स्थानीय चन्दन यादवकी छोरी रोशनी यादव घाईते भएकी हुन् ।

प्रहरीका अनुसार बसबरियामा भएको दुर्घटनामा घाईते बालिकालाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ भने अन्य दुर्घटनाका घाईतेहरुको स्थानीय स्तरमै उपचार चलिरहेको छ ।