नदी उकास जग्गालाई हरियाली बनाउने अभियान

वृक्षरोपणपछि आयोजित कार्यक्रममा सहभागीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा बिहिवार नदी उकास नौ बिघा जग्गामा वृक्षारोपण गरिएको छ ।

कृषि तथा वन कार्यक्रम अन्तर्गत यूएनडीपीको आर्थिक सहयोग, हरिवन नगरपालिकाको सहकार्य र ग्रामीण स्वंम सेवक समाज हरिवनको आयोजनामा आँप, कटहर, लिची, जामुन लगायतका विरुवा रोपिएको हो । सो कार्यक्रम अन्तर्गत हरिवन नगरपालिकाको वडा नं. २, ३, ४ र ५ मा नगरपालिका मातहत पर्ने २२ हेक्टर नदी उकास जमिनमा वृक्षरोपण गरिने सो कार्यक्रमका संयोजक रामचन्द्र कुशवाहाले जानकारी दिए । कुशवाहाका अनुसार वृक्षरोपणमा स्थानीय अति विपन्न परिवारहरुलाई पनि सहभागी गराई विरुवा रोपिएकै स्थानमा प्राविधिक अध्ययन गरी विभिन्न प्रजातिका बाली लगाएर खेती गर्ने योजना छ ।

ग्रामीण स्वंम सेवक समाजका अध्यक्ष दधिराम पौडेलको अध्यक्षतामा आयोजित वृक्षरोपण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव कमल बुढाथोकी, नेताहरु सुरेन्द्र लामा, चुडामणि वाग्ले, ५ नं. वडाका वडाध्यक्ष नागेन्द्र कुमार साह, कृषि विज्ञ सुरज खनाल, वन विज्ञ सुवास कुशवाहा लगायतको उपस्थिति थियो ।