हाम्रो कृषि कार्यक्रमको शुभारम्भ

लालबन्दीको कार्यक्रमका सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)
बागमतीको कार्यक्रमका सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन –.हाम्रो कृषि सहकारी संस्था लिमिटेड हरिवन–४, पटौना तथा स्वावलम्वन बजार व्यवस्थापन तथा रोजगार सृजना केन्द्रले हाम्रो कृषि कार्यक्रम शुभारम्भ गरेको छ ।

युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सर्लाही र महोत्तरी जिल्लामा संचालित दक्षता परियोजना अन्तर्गत हाम्रो कृषि कार्यक्रमको शुभारम्भ गरिएको हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तीलकबहादुर खड्काले जानकारी दिए । सर्लाहीको हरिवन, बागमती र लालबन्दी नगरपालिका तथा महोत्तरीको बर्दिबास नगरपालिकामा कार्यक्रम शुभारम्भ गरिएको सृजना केन्द्रका कार्यकारी निर्देशक केशब थापाले बताए ।

कार्यक्रमका फोकल पर्सन हरि थापाका अनुसार कृषकहरुलाई बेमौसमी तरकारी खेति, पोल्ट्री फार्म र डेरी लगायत विषयमा सीपमूलक तालिम प्रदान गरिने छ । आयोजक संस्थाले शुक्रबार बागमती नगरपालिकाका सरोकारवालाहरुको उपस्थितीमा शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ भने लालबन्दीमा दुई दिनअघि त्यस्तो कार्यक्रम गरेको थियो । हरिवन नगरपालिकामा भने केही समयअघि नै शुभारम्भ कार्यक्रम गरिसकिएको आयोजक संस्थाले जनाएको छ । हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षतामा शुक्रबार सिता प्यालेस होटलमा भएको कार्यक्रममा बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान प्रमुख अतिथि रहेकी थिईन् ।

कार्यक्रमकी संचार तथा डकुमेन्टेसन अधिकृत पुजा कार्कीको सञ्चालन रहेको कार्यक्रममा फोकल पर्सन हरि थापाले स्वागत मन्तब्य तथा टिम लिडर दिपेन्द्र चौधरीले परियोजनाको बारेमा विस्तृत जानकारी गराएका थिए ।

त्यस्तै लालबन्दी स्थित नमस्ते होटलमा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख शान्ति लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।