कौडेनाको छपकहियामा पूर्व सावधानीले टर्यो झडप

कौडेनास्थित गाउँपालिकाको कार्यालय । तस्बिर : उज्यालो अभियान

कौडेना, असोज २९ – सर्लाहीको कौडेना गाउँपालिका–५, छपकहियामा बिहिवार दुई समुदायबीच हुनै लागेको झडप जनप्रतिनिधि र प्रहरीले बेलैमा सावधानी अपनाउँदा टरेको छ ।

स्थानीय मुस्लिम समुदायका एक व्यक्तिको कालगतीले मृत्यु भएपछि छपकहियास्थित विवादित जग्गामा रहेको कब्रस्थानमा शव गाड्न ल्याइएको थियो । त्यसक्रममा हिन्दु समुदायले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।
तत्कालै ईलाका प्रहरी कार्यालय कौडेनाबाट सईको कमाण्डमा गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोष सिंह राठौरले उज्यालो अभियानलाई जानकारी दिए ।
प्रहरीले दुवै समुदायसँग समन्वय गरी मृतकको शव नजिकैको अर्को कब्रस्थानमा लगेर व्यवस्थापन गराएपछि झडप हुन नपाएको हो । जिल्लाबाट थप मद्धतमा इन्सपेक्टरको कमाण्डमा गएको प्रहरी टोली विवाद मिलेपछि बाटोबाटै फर्किएको प्रहरीले जनाएको छ ।
कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवले झडप रोक्न आपूmले पनि दुवै समुदायलाई सम्झाईबुझाई गरेको बताए । छपकहिया टोलामा रहेको १०÷१२ कठ्ठा जति जग्गामा दुवै समुदायबीच विवाद चल्दै आएको छ ।
जग्गाको एकातर्फ मुस्लिम समुदायले कब्रस्थान र अर्कोतर्फ हिन्दु समुदायले मसानघाटको रुपमा प्रयोग गर्दै आएको भएपनि एक महिनाअघि अज्ञात व्यक्तिले मुस्लिम समुदायको कब्रस्थानमा लगेर मरेको बोका गाडेपछि विवाद बल्झिएको हो । त्यहाँको विवाद मिलाउन स्थानीय स्तर र जिल्लामा समेत पटक–पटक बैठक बसिसकेको छ ।
यसैबीच सदरमुकाम मलंगवास्थित खुटौनामा रहेको सशस्त्र प्रहरीको युनिटमा कार्यरत एक जवान वुधवार राती स्थानीय एक घरमा नग्न अवस्थामा भेटिएपछि गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । गाउँलेहरुले मदिरा सेवन गरेर घरमा पसेका जवानलाई कारवाही तथा गाउँबाट प्रहरी युनिट उठाउन माग गर्दै बिहान केहीबेर नाराबाजी गरेका थिए ।
कोरोना संक्रमणपछि सीमा नाकाको निरीक्षण गर्न खुटौनामा सशस्त्र प्रहरीले एक व्यक्तिको घरमा अस्थायी किसिमले पोष्ट राखेको थियो । सशस्त्रले गाउँलेले नियन्त्रणमा लिएर बुझाएका जवानलाई आवश्यक कारवाहीका लागि बर्दिवासस्थित बाहिनीमा पठाइसकिएको जनाएको छ ।