रामनगर घटनामा निश्पक्ष छानविन गर्न नेकपाको माग

मलंगवा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर गाउँपालिकामा भएको हत्या घटनामा निश्पक्ष छानविन गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ ।
बुधबार राती अबेर नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले एक विज्ञप्ति प्रकाशित गर्दै असोज २१ गते रामनगर गाउँपालिका–७ मा एक समुदाय वीच आपसी विवाद हुँदा घाइते भएका स्थानीय महेन्द्र रामको २२ गते उपचारको क्रममा दुःखद स्वर्गारोहण भएको उल्लेख गर्दै मृतक प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै पीडितलाई उपचार खर्च सहित उचित क्षतिपुर्ति दिन समेत विज्ञप्तिमा माग गरिएको छ । साथै घटनाका दोषीलाई चाडोभन्दा चाडो कानूनी कठ्घेरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
आफ्नै समुदाय वीच आपसी विवाद पछि घाईतेको दुःखद मृत्युसम्म भएको घटनालाई नेपाली काग्रेसले राजनैतिक रंग दिएर हिंसात्मक वनाउन विभिन्न गलत गतिविधिको सहारा लिइरहेको भन्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
आपसी झडपलाई राजनीतिक घटनामा रुपान्तरण गरेर सामाजिक द्वेष र अराजकता निम्त्याउन नेपाली कांग्रेसका सांसद् अमरेश कुमार सिंहको नेतृत्वमा भईरहेका घृणित खेलहरु लज्जाजनक भएको उल्लेख गर्दै घटनाको दिन इलाका प्रहरी कार्यालय गडैयामा रहेका र गाउँमा नै नरहेका मानिसलाई समेत फसाउन झुटो प्रपंच रचेर नेपाली कांग्रेसले घटनालाई राजनैतिक इवि साँध्ने खेल खेलिरहेको आरोप लगाईएको छ । कांग्रेसले नेपाल प्रहरीलाई अनुसन्धान गर्ने वातावरण नै नदिएर एवं पीडितलाई आफन्त गुमाएको संवेदनामा खेल्दै मानवढाल बनाएर कोभिड महामारीको अवस्थामा पनि जुलुस जस्ता अराजकतापुर्ण काम गरिरहेको र त्यस क्रममा पीडित परिवार एवं सुरक्षाकर्मी समेतलाई घाईते वनाउने आत्मघाती काम गरेको भन्दै विज्ञप्तिमा जोडदार विरोध गरिएको छ ।घटनाको सत्यतथ्य जाँच गरि दोषीलाई कानूनी कठ्घेरामा लान सहयोग गर्नु पर्नेमा नेपाली काँग्रेसले निर्दोषलाई फसाउने, मानव ढाल वनाएर पीडितको संवेदनालाई दुरुपयोग गर्ने लगायत समाज विरोधी षडयन्त्र र पीडितलाई अझ पीडा दिने गतिविधि रोक्दै कानूनी कार्बाहीको वातावरण बनाउन विज्ञप्तिमा माग गरिएको छ ।
मृतक रामको शव अहिले पनि वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमै रहेको छ । शव बुझ्न आफन्त गएका छैनन् ।
कांग्रेसले हत्या घटनामा संलग्नलाई छाडेर अन्यलाई नियन्त्रणमा लिई प्रहरीले निश्पक्ष ढंगले अनुसन्धान अगाडी नबढाएको आरोप लगाउँदै बुधबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेको थियो । त्यसक्रममा झडप हुँदा पाँच दर्जन हाराहारी घाईते भएका छन् ।
ठूलो भिड कार्यालय भित्र जबर्जस्त प्रवेश गर्न खोज्दा रोक्ने प्रयास गरेपछि एक्कासी ढुंगामुढा सहित कांग्रेस नेता कार्यकर्ता आक्रमणमा उत्रिएकाले बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले लाठी प्रहार सहित ३१ सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले महिला कार्यकर्तामाथि डण्डा बर्साएको र दुई महिलाको हात तथा एक महिलाको खुट्टा भाँच्चिएको सहित आफ्ना दुई दर्जन नेता कार्यकर्ता घाईते भएको कांग्रेसले बताएको छ । यता प्रदर्शनकारीहरुले प्रहार गरेको ढुंगामुढाले लागेर दुई जना डीएसपी सहित २२ जना नेपाल प्रहरी तथा १० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ मदन कुँवरले जानकारी दिए ।
घटनाको निश्पक्ष छानविनको माग तथा पीडित परिवारलाई क्षतिपूर्ति माग राख्दै कांग्रेसले क्षेत्र नं. ४ का ५१ वटै वडामा शुक्रबार बिहान ११ बजे विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।