मलंगवामा प्रहरी कार्यालय भित्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

जिल्ला प्रहरी कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै कांग्रेसका नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

पाँच दर्जन बढी घाईते, प्रहरीद्वारा ३१ सेल अश्रुग्याँस प्रहार

मलंगवा – सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय परिसरमै नेपाली कांग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फबाट पाँच दर्जन बढी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन गएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झडप भएको हो ।

धर्नामा बसिरहेको तथा केही दिनअघी एक कांग्रेस कार्यकर्ताको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी दिन भित्र पस्ने वितिकै प्रहरीले एक्कासी महिला नेता कार्यकर्तामाथि पनि लाठी प्राहर गरेको कांग्रेस जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार रायले आरोप लगाए । संघीय सांसद् डा. अमरेशकुमार सिंहका अनुसार प्रहरीले कुनै सूचना वा माईकिङ नै नगरी महिला कार्यकर्ताहरुमाथि एक्कासी लाठी प्रहार गरेको थियो ।

‘जिल्ला प्रहरी कार्यालय अगाडी धर्नाका साथै कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी दिन भित्र पस्ने वितिकै प्रहरीले अन्धाधुन्ध लाठी र अश्रुग्याँस प्रहार गरेको छ’, सांसद् सिंहले भने, ‘महिला प्रहरीहरु समेत नराखेर पुरुष प्रहरीले महिला नेता कार्यकर्तामाथि अन्धाधुन्ध लाठी प्रहार सहित बल प्रयोग भएको छ, हाम्रा महिला कार्यकर्ता सहित दुई दर्जन बढी नेता कार्यकर्ता घाईते भएका छन्, प्रहरी दमन विरुद्ध हाँमी अझ सशक्त संघर्षका कार्यक्रम अगाडी बढाउने छौं ।’

प्रदर्शनकारीतर्फका घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको र कतिपयलाई बाहिर रेफर गर्नुपर्ने अवस्था समेत रहेको कांग्रेस जिल्ला सभापति रायले बताए । सभापति रायका अनुसार गम्भिर र सामान्य घाईतेहरुको नाम संकलन गर्ने काम भईरहेको तथा गम्भिर घाईते देखिएकालाई बाहिर पठाउनका लागि पनि तयारी भईरहेको छ ।

सभापति रायले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रहरीको कुटाईबाट दुईजना महिलाको हात भाँच्चिएको तथा एक महिलाको खुट्टा भाँच्चिएको बताएका छन् । अन्य दुईदर्जन कार्यकर्ता घाईते भएको विज्ञप्तिमा उल्लेख छ । आफू सहित संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसद्द्वय वीरेन्द्रप्रसाद सिंह र उपेन्द्र कुशवाहालाई प्रहरीले दुव्र्यबहार समेत गरेको संघीय सांसद् समेत रहेका जिल्ला सभापति रायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीका एक महिलासहित दुईजना कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको र उनीहरुलाई अबिलम्ब रिहा गर्दै मृतकका परिवारको जाहेरी गरेर आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाउन सभापति रायले माग गरेका छन् । अबिलम्ब किटानी जाहेरी दर्ता गरी पीडितलाई न्याय दिनेतर्फ सरकार सचेत नभए बाध्य भएर चरणबद्ध रुपमा सशक्त आन्दोलनको कार्यक्रम तय गरी नेपाली कांग्रेस सर्लाही आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवार प्रहरी प्रशासन नै हुने विज्ञप्तिमा उल्लेख छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने जबर्जस्ती कार्यालय भित्रै ठूलो संख्यामा नेता कार्यकर्ता छिर्न खोजेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको दाबी गरेको छ । अहिलेको यस्तो कोरोना संक्रमणको त्रासबीच ठूलो संख्यामा समुदाय भित्र प्रवेश गर्न खोजेपछि रोक्न खोजेको तर उल्टै ढुंगामुढा गरेर कांग्रेस कार्यकर्ताहरु सुरक्षाकर्मीमाथि खनिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले दाबी गरे ।

‘जबर्जस्ती ठूलो संख्यामा प्रदर्शनकारी भित्र छिर्न खोज्दा रोक्ने प्रयास गर्ने वितिकै एक्कासी हाँमीमाथि ढुंगामुढा प्रहार भयो, जसले गर्दा भिडलाई नियन्त्रण गर्न बाध्य भएर बल प्रयोग गर्नु प¥यो’, प्रनाउ कुँवरले भने, ‘ढुंगा प्रहार गर्दै कार्यालयमा समेत तोडफोड गर्ने नियत देखिएपछि भिडलाई नियन्त्रण गर्न लाठी चार्ज सहित ३१ सेल अश्रुग्याँस प्रहार गर्नु प¥यो ।’

आफूसहित ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रनाउ उद्यवसिंह भाट सहित नेपाल प्रहरीका २२ जना सामान्य घाईते भएको प्रनाउ कुँवरले दाबी गरे । कांग्रेस कार्यकर्ताहरुको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालयको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीले सम्भावित झडप हुनसक्ने आशंका सहित जिल्लाभरका विभिन्न ईकाईहरुबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरु मलंगवामा झिकाएको थियो ।

कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको गत असोज २१ गते कुटपिटबाट हत्याको भएको र उक्त घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाउँदै आएको छ । कांग्रेसले मृतक महेन्द्र रामलाई शहीद घोषणा गर्न र हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी नै प्रदर्शन गरेको हो । उपचार गर्दागर्दै मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमै रहेको छ । कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल नियन्त्रणमा लिई कार्बाहीको दायरामा ल्याउनुपर्ने र मृतकलाई शहिद घोषणा तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडी बढाईएको जनाएको छ । घटनामा संलग्नै नभएका व्यक्तिहरुको समेत नाम राखेर किटानी जाहेरी गर्न खोजिएकाले यस्तो अवस्था आएको प्रहरीको दाबी छ ।

प्रदर्शनमा जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंह, उपेन्द्र कुशवाहा लगायत सयौंको संख्यामा कांग्रेस कार्यकर्ता गएका थिए । प्रहरीको धरपकड पश्चात कांग्रेस नेता कार्यकर्ताले पब्लिक स्कूल छेउमा विरोध सभा गरेका थिए । सभालाई जिल्ला सभापति राय, संघीय सांसद् सिंह, प्रदेश सांसद् सिंह लगायतले सम्बोधन गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति, मृतकलाई शहिद घोषणा र दोषिको नाम किटानी जाहेरी दर्ता नगरिए अझ सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका थिए ।