कोरोना संक्रमित सीडीओ र कर्मचारीको पुनः स्वाब लिइने

कोरोना संक्रमण पुष्टी भई सेल्फ आइसोलेसनमा बसिरहेका प्रजिअ सुरेन्द्र पौडेल । तस्बिर : उज्यालो अभियान

मलंगवा – कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरेर बसिरहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको पुनः थ्रोट स्वाब लिइने भएको छ ।

बिहिवार (भोली) फेरि स्वाब लिने र त्यसको रिपोर्टका आधारमा कार्यालय खोल्ने वा नखोल्ने भन्ने निर्णय लिइने कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राम प्रमोद यादवले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उहाँका गार्ड र अरु तीन जना कर्मचारी समेत गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि गत आइतवारदेखि जिल्ला प्रशासन कार्यालय सर्लाही बन्द गरिएको हो ।


सूचना अधिकारी यादवका अनुसार कोरोना संक्रमित प्रजिअ पौडेलसहित सबै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । यता सीडीओ कार्यालय बन्द हुँदा नागरिकता वितरण, राहदानी सिफारिस लगायत अन्य काम ठप्प भएको छ ।


यसअघि लामो बन्दाबन्दीपछि खुलेको कार्यालयमा त्यसै पनि नागरिकता बनाउने सेवाग्राहीहरुको अत्यधिक भीडभाड थियो । अहिले फेरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काम रोकिँदा कार्यालय खुलेपछि अत्यधिक भीडभाड हुने देखिन्छ । जिल्ला प्रशासनसँगै ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा तथा नापी, मालपोत लगायतका कार्यालयहरुमा पनि अत्यधिक भीडभाड हुने गरेको छ ।