सर्लाहीका सीडीओ सहित छ जनामा कोरोना, सात दिनका लागि सीडीओ कार्यालय बन्द

प्रजिअ पौडेल ।
जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो जारी गरेको सूचना ।

मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेल सहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत छ जना कर्मचारीमा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

शनिबार दिउँसो आएको रिपोर्ट अनुसार सीडीओ पौडेल, उनका सुरक्षागार्ड, एकजना प्रशासकीय अधिकृत, राहदानी फाँटमा काम गर्ने एक महिला सहित छ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । प्रशासन कार्यालयका एकजना नायब सुब्बाको रिपोर्ट पोजेटिभ आएपछि गत विहिबार जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारी तथा थूनुवाहरु गरी ७१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । थूनुवा लगायतको रिपोर्ट भने हेर्ने क्रममै रहेकाले केही बेर पछि नै आउने स्थानीय प्रशासनका एक कर्मचारीले बताए ।

प्रजिअ पौडेल सहित ६ जनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय ७ दिनका लागि पूर्ण रुपले बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादवले एक सूचना प्रकाशित गर्दै असोज २५ गतेदेखि ३० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको बताएका छन् । १ गते शनिबार परेकाले अब असोज २ गतेबाट मात्र जिल्ला प्रशासन कार्यालय सञ्चालनमा आउने छ ।