सर्लाहीमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

कर्मैया स्थित बागमती खोला किनारमा शवको दाहसंस्कारका लागि सलामी अर्पण लगायत व्यवस्थापनको काम गर्दै नेपाली सेनाको टोली । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुरमा उपचाररत लालबन्दीका एक जना पुरुष र काठमाण्डौंमा उपचाररत हरिपूर्वाका अर्का एक पुरुष गरी दुई जनाको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–८, का ४२ वर्षीय पुरुषको आइतवार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको परिवारलाई उदृृृृध गर्दै लालबन्दी नगरपालिका–८, का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए ।

असोज १५ गते अस्पताल भर्ना भएका उनको १६ गते थ्रोट स्वाब निकालेर परीक्षण गर्दा भोलीपल्ट पोजिटिभ रिपोर्ट आएको थियो । पहिले देखिनै कलेजोको बिरामी उनले अत्यधिक मदिरा समेत सेवन गर्थे ।

यस्तै हरिपूर्वा नगरपालिका–५, का ६५ वर्षीय पुरुषको सोमवार हृयाम्स अस्पताल काठमाण्डौंमा मृत्यु भएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । ती पुरुष मुटुको पुराना बिरामी भएको बुझिएको स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९, फोकल पर्सन सुशील कुमार झाले बताए ।

थप दुई जनाको मृत्यु भएँसगै सर्लाहीमा कोरोना संक्रमितको मृत्यु संख्या ९ पुगेको छ । मलंगवा, हरिपूर्वा र लालबन्दीमा दुई/दुई, हरिपुर, चक्रघट्टा र बरहथवामा एक–एक जनाको मृत्यु भएको छ ।

यस्तै जिल्लामा हिजो सोमवार बलरामा दुई, हरिवनमा दुई, रामनगर र हरिपूर्वामा एक/एक जना गरी ६ जना जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।