सबैजसो विद्यालय खुले, डीसीसीएमसीबाट पनि अनुमति

मलंगवा – सर्लाहीका सबैजसो पालिकाहरुले पठनपाठन सुरु गरेका छन् ।

शिक्षा मन्त्रालयबाट जारी भएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम पढाई सुरु गरिएको हो । निर्देशिका बमोजिम कतिपय ठाउँमा विद्यालय नै खोलेर र केही ठाउँमा अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गराउन थालिएको शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा, सर्लाहीका प्रमुख सत्रुघ्न यादवले जानकारी दिए । उनका अनुसार धेरैजसो पालिकाहरुमा सबै विद्यार्थीलाई एकैचोटी नबोलाई एक/दुई दिनको ग्याप राखेर पालैपालो कक्षा सञ्चालन गर्न थालिएको छ ।

शैक्षिक सत्र प्रभावित हुन नदिन पालिकाहरुको निर्णय र शिक्षा मन्त्रालयको निर्देशिका अनुसार पढाई सुरु गरिएको विद्यालयहरुले जनाएका छन् । कतिपय स्थानमा गाउँ टोलमा सिकाई केन्द्र खडा गरी पठनपाठन गराउन शौचालय, खानेपानी र फराकिलो ठाउँको अभाव भएकाले विद्यालयलाई नै शिक्षाई केन्द्र बनाई पढाउन थालिएको ईकाई प्रमुख यादवले बताए ।

यसैबीच जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बिहिवार बसेको बैठकले अहिलेसम्म पठनपाठन सुरु नगरेका विद्यालयहरुलाई शिक्षा मन्त्रालयले बनाएको निर्देशिका बमोजिम पठनपाठन सुचारु गर्न अनुमति दिएको छ । यस्तै बैठकले मलंगवास्थित आइसोलेसन बनाइएको सन्त अल्पमाई राम नारायण यादव नर्सिङ कलेज मलंगवा–२, अगाडि रहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । ईकाईको भवनमा अहिले स्वास्थ्यकर्मी र नेपाली सेना बस्दै आएका छन् । अब उनीहरुलाई तलको तीन वठा कोठा दिएर बाँकी बसेका कोठाहरुबाट कार्यालयको कामकाज सूचारु गर्ने निर्णय भएको ईकाई प्रमुख यादवले बताए ।