पूर्व प्रिन्सीपलसँग पढेको भन्दै विद्यार्थीलाई विद्यालय प्रवेशमै निषेध

लर्ड ब्राईट विजडम आवासिय विद्यालय । (तस्बिर : उज्यालो अभियान )

जनार्जन खत्री/नवलपुर – आफ्नो विद्यालयबाट निस्किएका शिक्षककहाँ गएर ट्यूसन पढेको भन्दै सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीमा रहेको लर्ड ब्राईट विजडम आवासिय विद्यालयले विद्यार्थीलाई अबदेखि विद्यालयमा नपढाउने भन्दै विद्यालयमै प्रवेश गर्न दिएको छैन् ।

लकडाउनको समयमा विद्यालयकै पूर्व प्रिन्सीपल सुदीप कार्कीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित घरमै बसेर पढेका कक्षा १० का १३ जना विद्यार्र्थीलाई विद्यालयमा प्रवेश निषेध गरिएको हो । छात्रा श्रद्धा लामाले आफूहरुलाई विद्यालयमा प्रवेश गर्न नदिएको गुनासो गरिन् । ‘सुदिप सरसँग भएको इख हामीसँग निकाल्नु भयो, समस्या त के हो ? हामीलाई पनि थाहा छैन्’, उज्यालो अभियानको टिम मंगलवार मध्यान्ह विद्यालयमा आएको थाहा पाएपछि साथीहरुसँगै विद्यालय पुगेकी उनले भनिन्, ‘सरसँगको रिस हामीमाथि झारियो ।’ उज्यालोको टिम त्यहाँ पुग्दा उनीसँगै अन्य विद्यार्थीलाई गेटबाट भित्र छिर्न नदिई झण्डै डेढ घण्टा बाहिरै राखियो । संचारकर्मीको टिम फर्किएपछि उनीहरु पनि गेटबाटै फर्किए ।

सुदिप सरकहाँ पढन गएकै कारण आफूहरुमाथि विद्यालयले नराम्रो व्यवहार गर्दै भविष्यमाथि खेलवाड गरेकोमा श्रद्धाले चित्त दुखेको उज्यालो अभियानसँग बताईन् । आफूहरु आइतवार विद्यालय खुलेपछि पढ्न भनेर जाँदा फाउण्डर (संस्थापक) अजिता अधिकारीले कडासँग हप्कीदप्की गरेको लामाले बताईन् ।

आफूहरुको बालबच्चामाथि विद्यालयले गरेको व्यवहारप्रति अभिभावक पनि आक्रोशित छन् । सोही विद्यालयमा छोरालाई पढाई रहेका ईश्वरपुर नगरपालिका–१४, श्रीनगरका कमलेश साहले होस्टलमा नबसी बाहिर बसेर पढेकै निहुँमा कक्षा १० मा पढ्ने विद्यार्थीलाई सुदिप सरकहाँ नै गएर पढ, उस्कोमा होस्टल बसेर पढ्न आउने भए विद्यालयमै छिर्न दिन्न भनेर बालबच्चाको भविष्यमाथि नै खेलवाड गरेको बताए । ‘मेरो छोरा कुनाल साह यो वर्ष ९ कक्षाबाट १० कक्षामा गएको छ, लकडाउनको समयमा छोरालाई सुदिप सरको घरमा लगेर राखेँ, तर स्कुलबाट त्यहाँ नराख भनेर दबाब दिइरहेको छ, सुदिप सरको घरमा राखेकै कारण अहिले छोरालाई विद्यालयमै पस्न दिइएको छैन्’, साहले भने, ‘मेरो छोरालाई सुदिप सरकहाँ वा अन्त कतै लगेर राखौँँ, त्यो त मेरो इच्छा हो नी । ’

अभिभावकहरुले सबैतिर पठनपाठन भइसकेकाले आफूहरुको बालबच्चालाई पनि नियमित पठनपाठनमा सहभागी गराउन माग गरिरहेका छन् । तर विद्यालयले भने पूर्व प्रिन्सीपल कार्कीको होस्टलमा नबस्ने सहमति गरेपछि मात्रै विद्यार्थीलाई विद्यालय छिराउने बताइरहेको छ ।

विद्यालयको हालका प्रिन्सीपल वसन्त खड्काले पूर्व प्रिन्सीपल सुदिप कार्कीको घरमा बसेर पढेका विद्यार्थीलाई विद्यालयले नपढाउने निर्णयमा पुगिएको उज्यालो अभियानसँग स्वीकार गरे । ‘सुदिप सरसँग हाम्रो कुनै सम्वन्ध छैन्, उहाँले विद्यालय छाडेर गएपछि अभिभावक भड्काउने र विद्यालयविरुद्ध बोल्दै हिँड्नु भएको छ’, खड्काले भने, ‘उहाँको घरमा बसेका विद्यार्थीहरु पनि उहाँले यसो–यसो गर भनेर सिकाकै आधारमा प्रस्तु भइरहेका छन् । त्यसैले अन्त कतै भाडामा बसेका विद्यार्थीलाई हामी पढाउँछौँ, तर सुदिप सरकोबाट आउने विद्यार्थी स्वीकार गर्दैनौँ ।’

पूर्व प्रिन्सीपल सुदिप कार्कीले भने आफ्नो १३ प्रतिसत शेयर हुँदाहुँदै आफूलाई समेत विद्यालय प्रवेश गर्न नदिएको बताए । मंगलवार उज्यालो अभियानको टिम र अभिभावकलाई फाउन्डर र प्रिन्सीपलसँग कुरा गर्न भित्र पस्न दिईए पनि पूर्व प्रिन्सीपल कार्की र उनको घरमा बसेका विद्यार्थीलाई भने गेटमै रोकियो । पूर्व प्रिन्सीपल कार्कीले विद्यार्थी र उनीहरुका अभिभावक आफै पढाई दिनुपर्यो भन्दै आफ्नो घरमा आएका बताए ।

विद्यार्थीको भविष्यमाथि खेलवाड भएको विषय भएकाले हामीले यसबारेमा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनासँग पनि जिज्ञासा राख्यौँ । उनले यसबारेमा कुनै जानकारी नभएको बताए । ‘तपाईले भनेपछि थाहा पाउँदै छुँ’, मंगलवार दिउँसो यस समाचारका पंक्तिकारसँग तिमल्सिनाले भने, ‘विद्यार्थी कहाँ गएर बस्छन् र अभिभावकले कहाँ राख्छन् त्यो उनीहरुको अधिकारको कुरा हो, यसमा विद्यालयले अनावश्यक टाउको दुःखाई राख्नु जरुरी छैन् । प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले १० कक्षामा ट्रान्सफर नै गर्न नमिल्ने र विद्यालयले यसरी विद्यार्थी नपढाएर अनावश्यक तनाव दिएको उजुरी आए तत्कालै कारवाही नै गरिने बताएका छन् । यसअघि केही महिना पहिले होस्टलमा बस्ने विद्यार्थीले झुण्डिएर आत्महत्या गरेको घटनामा पनि यो विद्यालय विवादमा तानिएको थियो ।