मुख्यमन्त्रीले गरे सौन्दर्यकरण अभियानको प्रारम्भ

मलंगवा – निकै पुरानो र ऐतिहाँसिक मानिने सर्लाही सदरमुकाम मलंगवास्थित ठूलो मुसैलीको पोखरी सौन्दर्यकरण अभियानको बुधबार उद्घाटन गरिएको छ ।

प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री मोहम्मद् लालबाबु राउत गद्धीले अभियानको उद्घाटन गरेका हुन् । सयौँ वर्ष पुरानो मुसैलीस्थित पोखरीको संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रदेश सरकारले ६ करोड भन्दा बढी रकम विनियोजन गरेको प्रदेश सभा सदस्य अशोक कुमार यादवले जानकारी दिए ।

यादवकै अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री एवं संघीय सांसद महेन्द्र राय यादव, संघीय सांसद प्रमोद साह, प्रदेश सांसदहरु, विभिन्न पालिकाका प्रमुख लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथी तथा सहभागी सयौँले मास्क लगाएका थिएनन् भने बिना भौतिक दूरी ठूलो भीड जम्मा भएको थियो । मुख्यमन्त्री तथा जिल्लाकै नेतृत्व तहमा रहेकाहरु उपस्थित कार्यक्रममा सरकारले बनाएको जनस्वास्थ्य मापदण्डको खिल्ली उडाइएको छ ।