प्रेमिकालाई विष खुवाउने फरार अभियुक्त पक्राउ

धनकौल – दुई वर्षअघि विष खुवाएर महिलाको हत्या गरेको अभियोगमा फरार रहेका सर्लाही धनकौलका एक अभियुक्त पक्राउ परेका छन् ।

सर्लाहीको दक्षिण–पश्चिम भेग स्थित धनकौल गाउँपालिका–५, का ३५ वर्षीय पुनित पासवानलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । पासवानले २०७५ साल भदौ २२ गते छिमेकी २५ वर्षीया सोविता देवीलाई विष खुवाएर मारेको अभियोग रहेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए ।

श्रीमान विदेशमा रहेका बेला सोविता देवीसँग प्रेम सम्बन्ध झाँगिदै गएको र अवैध सम्बन्धका कारण पारिवारिक रुपमा अफ्ठ्यारो परिस्थिती आईपर्ने भएपछि पासवानले ती महिलालाई विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि लुकिछिपी बस्दै आएका पासवानलाई प्रहरीले आईतबार गाउँबाटै पक्राउ गरेको हो । पासवान विरुद्ध सर्लाही जिल्ला अदालतबाट सोमबार म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको डीएसपी भाटले बताए ।

इन्सपेक्टरको नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यालय बरहथावले भर्खरै डीएसपीको कमाण्ड पाएसँगै फरार प्रतिवादीको खोजी, विषाक्त घरेलु मदिरा नष्ट र लागूऔषध ओसारपसार नियन्त्रणमा तदारुक्दा देखाएको छ ।