कोरोना संकटमा मलंगवाका केही युवाहरुको उदाहरणीय पहल : रेडक्रससँग समन्वय गरी बिरामीलाई रगत दिँदै

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा केही युवाहरुले नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी रगत उपलब्ध गराउन थालेका छन् ।

विभिन्न पालिकामा घरभई अहिले सदरमुकाम मलंगवामा बसिरहेका युवाहरुले बिरामीको माग अनुसार रगत दिन सुरु गरेका हुन् । कोरोना भाइरसको संक्रमणले गर्दा अहिले सबैतिर रगतको अभाव रहेकाले युवाहरु एकजुट भई उपलब्ध भएसम्म बिरामीसँग मिल्ने ब्लड गु्रपको रगत दिइरहेका छन्् ।

आफूहरुले केही दिनको अन्तरालमा मानव धर्म निभाउँदै ४÷५ जना बिरामीलाई चढाउनका लागि रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमार्फत रगत दिइसकेको ब्रम्हपुरी गाउँपालिकास्थित भेल्ही गाउँमा घरभई हाल मलंगवामा बस्दै आउनु भएका युवा मनोज यादवले जानकारी दिए । सबै ब्लड गु्रप भएका युवाहरु चिनजान गरी रेडक्रसले मागेको समयमा रगत दिन सक्ने टिम बनाउन लागि परेको उनले बताए ।

कोरोना संक्रमणले गर्दा अहिले अन्य रोगका बिरामीले उपचार नपाइरहेको अवस्थामा रगतकै अभावले गर्दा जटिल अवस्थाका बिरामीले ज्यान गुमाउनु परिरहेको घटना देखेर आफूहरु यस कार्यमा जुटेको युवाहरुको भनाई छ । यस्तै युवाहरुले भोको पेट बस्न बाध्य मजदुर, अति विपन्नलाई सकेजति खाद्यान्न सहयोग गर्न थालेका छन् ।