सर्लाही र रौतहटका सरोकारवालाबीच मुख्यमन्त्री राउतले भने–‘जिल्लाले बजेट खर्च गर्नै सकेनन्’

कार्यक्रममा बोल्दै मुख्यमन्त्री मोहम्मद् लालबाबु राउत गद्दी । (तस्बिर : उज्यालो अभियान)
कार्यक्रममा सर्लाहीमा भईरहेका काम कारबाहीबारे जानकारी गराउँदै प्रजिअ सुरेन्द्रप्रसाद पौडेल ।
(तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रदेश दुई सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले स्वास्थ्य क्षेत्रमा काम गर्न जिल्ला जिल्लामा पठाईएको बजेट खर्च हुन नसकेको गुनासो गरेका छन् ।

विहिबार दिउँसो सर्लाहीको हरिवनमा सर्लाही र रौतहट जिल्लामा कोरोना भाईरस संक्रमण रोकथामका लागि भए गरेका कामहरुको प्रगति विवरण बुझ्ने र समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले त्यस्तो गुनासो गरेका हुन् । ‘स्वास्थ्य क्षेत्रमा काम गर्न भनेर जिल्ला जिल्लामा पठाईएको बजेट खर्चै भईरहेको छैन’, मुख्यमन्त्री राउतले गुनासो गरे, ‘बाराको कलैया अस्पतालमा पठाईएको ५ करोड, रौतहटको गौर अस्पतालमा पठाईएको साँढे २ करोड खर्चै गर्न नसकेर त्यसै फिर्ता भयो, त्यो रकमले ती अस्पतालहरुमा आईसीयू, सीसीयू लगायत त बनाउन सकिन्थ्यो होला नि ।’ गत विगत वर्षहरुमा पठाईएको उक्त बजेटबाट ती अस्पतालहरुमा आईसीयू लगायतको सुविधा थप गरेको भए अहिलेको अवस्थामा निकै टेवा पुग्ने मुख्यमन्त्री राउतको भनाई थियो ।

‘अहिलेको अवस्थामा जनताको जिवन रक्षा मुख्य कुरा हो, जनताको जिवन रक्षापछि मात्र विकास चाहिने हो’, मुख्यमन्त्री राउतले भने, ‘त्यसैले जनताको जिवन रक्षाका लागि संघ वा प्रदेश सरकारबाट आएको पैसाको सदुपयोग गरिहाल्नोस्, ऐन कानून, मापदण्ड, कार्यविधीको बहानामा सामान किन्न नडराउनोस्, के कस्ता कामका लागि कति बजेट चाहिन्छ माग गर्नोस्, प्रदेश सरकार दिन तयार छ ।’ सरकारी अधिकारीले आफ्नो घरको नभई जनताबाटै संकलन गरिएको बजेट जनताको जिवन रक्षाका लागि खर्च गर्न नडराउन समेत मुख्य मन्त्री राउतले प्रशासक एवं राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरे । त्यस्तै प्रदेश भित्रका ८ वटै जिल्लाका जिल्ला अस्पताललाई एक–एक थान एम्बुलेन्स र शव बाहन किन्नका लागि बजेट समेत पठाईसकिएको मुख्यमन्त्री राउतले प्रश्ट्याए । ‘जिल्लाहरुमा कोरोना भाईरस संक्रमितलाई आईसोलेसनसम्म पु¥याउनका लागि एम्बुलेन्स चालकहरुले नमान्ने गरेको तथा यदि संक्रमितको मृत्यु भएमा उक्त शव ओसार्नका लागि शव बाहनको समेत अभाव भएको गुनासो आईरहेको थियो’, मुख्यमन्त्री राउतले भने, ‘त्यसैले कम्तिमा जिल्ला अस्पतालको व्यवस्थापनमा रहने गरी खरिद गर्न बजेट पठाईसकेका छौं, त्यो पनि खरिद भएको छैन ।’

त्यस्तै विपद् व्यवस्थापन समितिबाट खर्च गर्नका लागि लकडाउन सूरु हुनुभन्दा अगाडी नै ८ वटै जिल्लामा ५०–५० लाख रुपंैया पठाईएको र चालु आर्थिक वर्षमा समेत ७५ लाखको दरले पठाईसकिएको मुख्यमन्त्री राउतले जानकारी दिए । कोरोना भाईरस जस्तो महामारी नियन्त्रण गर्ने मुख्य दायित्व संघीय सरकारकै भएपनि प्रदेश र स्थानीय सरकारले समेत गम्भिर भएर काम गरिरहेको मुख्य मन्त्रीको धारणा थियो । ‘संविधानतः यस्तो महामारी नियन्त्रण गर्ने मुख्य दायित्व संघकै हो’, मुख्यमन्त्री राउतले भने, ‘तर यस्को र उस्को भन्दै पन्छिएर हिँडने भन्दापनि सबैले एकअर्कासँग समन्वय गरेर यस्तो महामारी नियन्त्रणमा लिनु नै सबैको मुख्य जिम्मेवारी हो ।’

कार्यक्रममा बोल्दै प्रदेश दुई सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश भित्रका ८ वटै जिल्लामा कोरोना भाईरस परीक्षण गर्नका लागि पीसीआर मेशिन प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए । ‘धेरै त नभन्नुस्, १५ दिनभित्र सर्लाही सहित प्रदेश भित्रका जिल्लाहरुमा एक–एक थान पीसीआर मेशीन उपलब्ध गराउँछौं’, मन्त्री साहले भने, ‘अब उक्त मेशिन सञ्चालनका लागि भने जिल्ला स्थित सबै पक्ष, तह र तप्काले समन्वय गर्नुपर्ने जरुरी छ ।’ स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री साहले पीसीआर मेशिन किन्नु भन्दापनि सञ्चालन गर्नु ठूलो चुनौतीको विषय भएको बताए । ‘एउटा पीसीआर मेशिन सञ्चालनमा ल्याउन १८ देखि २५ जना स्वास्थ्यकर्मी चाहिन्छ’, उनले भने, ‘त्यसैले मेशिन किन्नु भन्दा जनशक्तिको व्ययभार निकै चुनौतीको विषय हो ।’ मन्त्री साहले अब सँधै लकडाउन गरेर देश नचल्ने उल्लेख गर्दैसामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने जस्ता सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संघीय सांसद् सुरेन्द्र रायले प्रदेश भित्रका अस्पतालहरुलाई जनशक्ति र उपकरणका हिसाबले सुविधा सम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै हरिवन नगरपलिकाका मेयर गणशेप्रसाद प्रसाईंले कोरोना भाईरस संक्रमण फैलन नदिनका लागि भारतीय सीमामा हुने आउजाउमा अत्यन्त कडाई गरिनुपर्ने धारणा व्यक्त गरे । ‘भारतमा दिन दुगूना रात चौगूनाको दरले कोरोना भाईरस संक्रमण फैलदो छ, त्यसैले भारतीय सीमामा कडाई गर्न कुनै मोलाहिजा नगरौं’, मेयर प्रसाईंले भने, ‘बजार, यातायात, सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्दा प्रदेश दुईभरी एकरुपताका साथ गरौं, किनकी सर्लाही बन्द हुँदा रौतहट खुल्ने अनि पर्सा बन्द हुँदा बारा खुल्ने जस्ता कार्यले लकडाउनको कुनै अर्थ नहुने भएकाले प्रदेश भरी एकरुपता ल्याउन जरुरी छ ।’

कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल साह, रौतहट गौर नगरपालिकाका मेयर अजय गुप्ता, नेपाली सेना मध्य पूर्वी पृतना धारापानीका पृतनापति उपरथि सुरेशकुमार कार्की, सशस्त्र प्रहरी बल बर्दिबास स्थित छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्माचार्य लगायतले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि भईरहेका र आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिका लागि सुझावमुलक मन्तव्य राखेका थिए ।

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद पौडेलले सर्लाही तथा रौतहटका प्रजिअ इन्द्रदेव यादवले रौतहतमा हालसम्म भईरहेको प्रयास, चुनौती, गर्नुपर्ने कामहरु बारेमा प्रस्तुति दिएका थिए भने । दुवै जिल्लाका जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले समेत स्वास्थ्य क्षेत्रमा भईरहेको काम तथा समस्या, चुनौतीको बारेमा ब्रिफिङ गरेका थिए ।

हरिवन बजार स्थित सगुन सहकारीको सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश दुई सरकारका महान्यायधिवक्ता दिपेन्द्र झाले सहजीकरण गरेका थिए । कार्यक्रममा दुवै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।