पानी नपर्दा सर्लाहीमा गर्मी बढ्यो

बिहिवार बिहान गुगल सर्च गर्दा देखाएको सर्लाहीको तापक्रम

मलंगवा – राम्रोसँग पानी नपर्दा सर्लाहीसहित तराईका जिल्लाहरुमा गर्मी बढेको छ ।

यस क्षेत्रमा केही सातादेखि ठूलो पानी पर्न सकेको छैन् । दिनभर चर्को घाम लागेर पूर्वी तातो हावा चल्दा गर्मी बढिरहेको हो । बिहान सबेरै देखि साँझ अबेरसम्म नै चर्को घाम लाग्छ । यहाँको तापक्रम दिउँसोपख ३२ देखि ३६ डिग्री सेल्सीयसको आसपासमा रहने गरेको छ ।

रातको समयमा पनि छटपटिने किसिमले गर्मी हुँदा जनजीवन प्रभावित भइरहेको छ । बढ्दो गर्मी रहेको अहिलेको समयमा घाउ–खटिरा, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

यो याम नै यस्तै भएकाले ज्वरो आउँदैमा नआत्तिन चिकित्सकहरुले आग्रह गरेका छन् । मौसमी ज्वरोका बिरामीलाई नजिकका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न जिल्ला अस्पताल मलंगवाका डा. अभिनाश कुमार सिंहले आग्रह गरेका छन् । उनले गर्मीमा पानी पर्याप्त पिउन र झोलिलो खानेकुरामा जोड दिन सुझाव समेत दिएका छन् ।

यस्तै पर्याप्त पानी नपर्दा किसानहरु पिरोलिएका छन् । वर्षात नहुँदा आकाशे पानीको भरमा खेती हुने ठाउँमा धान, कोदो लगायतका बालीनाली सुक्न थालेका छन् । उत्तरी चुरे जंगल रहेका बस्तीहरुमा भने बेला–बेलामा सामान्य वर्षा भइरहेको स्थानीय वासिन्दाले बताएका छन् ।