सर्लाहीमा आज थपिए २२ कोरोना संक्रमित

मलंगवा – सर्लाहीमा आज (आईतबार) कोरोना भाईरसका २२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय मलंगवाका अनुसार पछिल्लो समय प्राप्त आधिकारिक जानकारी अनुसार गोडैता नगरपालिकामा १७, मलंगवा नगरपालिकामा ३ र कविलासी नगरपलिकामा २ जना संक्रमित थपिएका हुन् । अन्य पालिकामा पनि सम्पर्क गरेर बुझ्ने प्रयास भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको आज (आईतबार) बिहानसम्मको तथ्यांक अनुसार यो २२ जना सहित सर्लाही जिल्लाभर हालसम्म कोरोना भाईरस संक्रमितको संख्या १ हजार २८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आईतबार) नियमित मिडिया ब्रिफिङका क्रममा सर्लाहीमा ९१ जना संक्रमित थपिएका भनेपनि उक्त तथ्यांकमा हिजो (शनिबार) दिउँसोदेखिको समेत समेटिएकाले बढी देखिएको हो ।

जिल्लामा सक्रिय संक्रमित अर्थात हालसालै थपिएका संक्रमित ५ सय भन्दा बढी छन् । जसमध्ये केही पालिकाहरुको आइसोलेसनमा बसिरहेका छन् भने अधिकांश घरमै अर्थात होम आइसोलेसनमा बसिरहेका छन् । पछिल्लो समय संक्रमितहरुलाई घरमै छाडिँदा, उनीहरुको सम्पर्कमा आएका र थ्रोट स्वाब दिएका शंकास्पद संक्रमितहरु खुलेयाम रुपमा हिँड्दा संक्रमणको अवस्था भयावह बन्दै गएको छ ।