सर्लाहीमा आज तेस्रो पटक फेरि थपियो निषेधाज्ञा

मलंगवा – बैंक तथा वित्तीय संस्था र पसलहरु दैनिक चार घण्टा खोल्न दिने निर्णय गर्दै सर्लाहीमा आज (आईतबार) तेस्रो पटक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योग व्यवसायी लगायतसँग छलफल गरी बैङ्क तथा वित्तीय संस्था र पसलहरु दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले तेस्रो पटक थपिएको निषेधाज्ञा भदौ १४ गतेसम्म लागू हुने बताउँदै सार्वजनिक यातायातका साधन, हाटबजार र कार्यालयहरु बन्द नै रहने बताए ।

यसअघि निषेधाज्ञाको अवधीमा औषधि, ग्याँस र खाद्यान्न पसल मात्रै खुलेका थिए । तेस्रो पटक जारी निषेधाज्ञाको अवधीमा खोल्न अनुमति दिइएको बैंक तथा वित्तीय संस्थाहरुले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सर्लाहीमा यसअघि साउन २६ गतेदेखि ३२ गतेसम्म पहिलो पटक र त्यसपछि भदौ ७ गतेसम्म दास्रो पटक निषेधाज्ञा लागू भएको थियो । समुदाय स्तरमै सङ्क्रमण पाइएपछि जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।