हरिवनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थपिए २४ नयाँ संक्रमित

हरिवन – सर्लाहीको हरिवनमा सुक्रवार थप २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा थ्रोट स्वाब परीक्षण गर्दा २४ जनाको पोजिटिभ रिपोर्ट आएको मेयर गणेश प्रसाद प्रसाईले जानकारी दिए । हरिवन नगरपालिकाले भदौ २ गते २०४ जनाको स्वाब संकलन गरेर टेकु पठाएको थियो ।

थपिएका नयाँ संक्रमितमा १४ जना महिला र १० जना पुरुष रहेका छन् । संक्रमितहरुमा दुई जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी र यसअघिका संक्रमितहरुको कन्ट्याक टे«सिङमा परेकाहरु रहेका मेयर प्रसाईले बताए । उनका अनुसार संक्रमितहरु वडा नं. ९, १० र ११ का रहेका छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार सर्लाहीमा सुक्रवार हरिवनमा बाहेक अन्य ठाउँमा संक्रमितहरु थपिएका छैनन् । विभिन्न पालिकाहरुले प्रदेश तथा केन्द्रको ल्याबमा स्वाब पठाएका भएपनि रिपोर्ट आउन बाँकी रहेको छ ।