थ्रोट स्वाब नै नदिइ कोरोना रिपोर्ट नेगेटिभ आएपछि …….

रामहरि निरौला ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको निरौलाको कोरोना भाईरस नेगेटिभ रिपोर्ट ।

हरिवन – सर्लाहीको हरिवन निवासी एक युवा कोरोना भाईरस परीक्षणका लागि थ्रोट स्वाब नै नदिएपनि नेगेटिभ रिपोर्टको म्यासेज आउँदा अचम्मित बनेका छन् ।

हरिवन नगरपालिका–८ निवासी रामहरि निरौलालाई काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार राती त्यस्तो म्यासेज आएको हो । ‘बुधबार राती १० बजेतिर मोबाईलमा ‘तपाईको कोभिड रिजल्ट नेगेटिभ छ” भन्ने म्यासेज आयो’, निरौलाले विहिबार साँझ उज्यालो अभियानसँग भने, ‘म त छक्क परेँ, आज बिहानै म्यासेजमा आएको लिंकमा गएर हेर्दा त मेरो नाम, उमेर र मोबाईल नम्बर उल्लेख भएका विस्तृत विवरण सहितको नेगेटिभ रिपोर्ट पो छ ।’

निरौला बागमती नगरपालिका–८, सोल्टीबजार स्थित मेरो माईक्रो फाईनान्स लघुवित्त शाखाका प्रबन्धक हुन् । सोमबार बागमती नगरपालिका कार्यालयले नगर क्षेत्रभित्रका बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको स्वाब संकलन गरेर पठाउने भएपछि उनले आईतबार वडा कार्यालयमा गएर आफू र अर्का एकजना स्टापको नाम तथा मोबाईल नम्बर टिपाएका थिए । ‘अघिल्लो दिन मैले दुईजनाको नाम टिपाएको थिएँ, तर स्वाब लिने कार्य पूर्व–पश्चिम राजमार्गको कर्मैयामा भएपछि दिन जान भ्याईएन’, उनले आश्चर्यचकित हुदै भने, ‘बागमती नगरपालिकाले पठाएको स्वाबहरुको बुधबार रातीदेखि रिपोर्ट आउन थालेपछि त मेरो पनि पो नेगेटिभ भन्ने म्यासेज आयो, धन्न नेगेटिभ आयो र तनाव भएन, यदि पोजेटिभ लेखिएको रिपोर्ट आएको भए मलाई कति तनाव हुन्थ्यो ।’

निरौलाले आफ्नो नाममा अरु कसैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको हुनसक्ने अनुमान गरे । ‘नेगेटिभ आए ठिकै छ, पोजेटिभ आएपनि अरुकै नाममा आउँछ र आफूलाई कुनै तनाव हुँदैन भन्ने मनसायका साथ चलाखी गरिएको जस्तो लाग्छ ।’, निरौलाले शंका व्यक्त गरे ।

यसबारे बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले आफूलाई कुनै जानकारी नभएको बताए । उनले स्वास्थ्य शाखाको नेतृत्वमा स्वाब संकलन भएकाले स्वास्थ्य शाखाका संयोजकसँग जानकारी लिन आग्रह गरे । स्वास्थ्य शाखाका संयोजक रामेश्वर सिंहले पनि स्वाब नै नदिएको मान्छेको त रिपोर्ट नआउनु पर्ने भन्दै एउटा मान्छेको नाममा अर्कोको स्वाब संकलन गरेर नपठाएको दाबी गरे ।