तीजको दिनमा सर्लाहीका शिवालयहरु सुनसान

हरितालिका तीजका दिन सुक्रवार मध्यान्ह सुनसान देखिएको लालबन्दीस्थित राधाकृष्ण मन्दिर । तस्बिर : जनार्जन खत्री/उज्यालो अभियान

लालबन्दी – कोरोना सङ्क्रमणका कारण हरितालिका तीज पर्वको दिनमा पनि सर्लाहीसहित देशभरका शिवालयहरु सुनसान बनेका छन् ।

अघिल्ला वर्षहरुमा दिनभर पूजा आराधना र नाचगान गर्नेहरुको थेगी नसक्नु भीडभाड हुने शिवालयहरुमा यो वर्ष चहलपहल देखिएको छैन् । लालबन्दीको डुमडुमेस्थित राधाकृष्ण मन्दिर, हरिवनको सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, मूर्तियाको मुक्तेश्वर बाबाधाम, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर लगायत जिल्लाभरका मुख्य शिवालयहरु सुनसान देखिएको हो ।

सङ्क्रमण सर्ने जोखिम र सरकारको आग्रह अनुसार महिलाहरुले घरमै बसेर पर्व मनाइरहेका छन् । हरितालिका तिजमा भगवान शिवको आराधान गरिन्छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा ब्रत बसी भगवान शिवको पुजा आराधना गर्नाले सुख शान्ति र परिवारको कल्याण हुने जनविश्वास रहेको छ ।

सत्ययुगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथनअनुसार तिजको दिन ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । हरितालिकाको पर्सिपल्ट पंचमीका दिन अरुणधती सहित सप्तऋषिको पुजा गरेपछि तिजको समापन भएको मानिन्छ ।

कोरोना सङ्क्रमणको जोखिमकै कारण यो वर्ष साउन महिना भर र रक्षा वन्धनको दिनमा समेत सर्लाहीका मन्दिरहरु सुनसान नै देखिएका थिए ।