सर्लाहीको बागमती नगरपालिकामा थपिए ५२ जना संक्रमित

बागमती – सर्लाहीको बागमती नगरपालिकाका ५२ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । बागमती नगरपालिकाले गत सोमबार जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सहकारीकर्मी, बैंकका कर्मचारी लगायत २४२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु पठाएको थियो ।

२४२ जना मध्ये २३४ जनाको परीक्षण रिपोर्ट आउँदा ५२ जना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखा उपसंयोजक पदम रायमाझीले जानकारी दिए । ८ जनाको रिपोर्ट पनि आजसाँझसम्म आउने बताईएको छ । ५२ जना संक्रमितमा ८ जना स्वास्थ्यकर्मी, होटलव्यवसायी, बैंकका कर्मचारी, नगरपालिकाकै कर्मचारी लगायत परेको स्वास्थ्यक शाखाका उपसंयोजक रायमाझीले जानकारी दिए ।

यो सहित बागमतीमा मात्र कोरोना संक्रमित संख्या ६० पुगेको छ । बागमतीको थप ५२ सहित सर्लाहीमा भने आधिकारिक रुपमा यस उज्यालो अभियानलाई प्राप्त अहिलेसम्मको तथ्यांक अनुसार सर्लाहीमा एकहजार १८४ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । हाल जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ल्याबहरुबाट रिपोर्टको जानकारी सिधै मेल नआउने हुँदा पालिकै पिच्छे बुझ्नु परेकाले कतिपय पालिकाका स्वास्थ्यकर्मीले स्पष्ट तथ्यांक नदिने गरेका कारण यो तथ्यांकमा फरक पर्न सक्ने देखिन्छ ।