सर्लाहीको ईश्वरपुरमा पनि आज १५ जना कोरोना संक्रमित थपिए

ईश्वरपुर – आज (विहिबार) आएको रिपोर्ट अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिकाका १५ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

ईश्वरपुर नगरपालिका कार्यालयले गत सोमबार उद्योगी, व्यापारी, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, बैंक तथा सहकारीका कर्मचारी, स्वास्थ्यकर्मी लगायत ३२८ जनाको थ्रोट स्वाब संकलन गरेर काठमाडौंको टेकु पठाएको थियो । जसमध्ये आज (विहिबार) दिउँसोसम्म २५३ जनाको परीक्षण सकिँदा १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले जानकारी दिए । मेयर देवकोटाका अनुसार कोरोना पोजेटिभ हुनेहरुमा वडाध्यक्ष, स्वास्थ्यकर्मी, विदेशबाट आएर क्वारेन्टिनमा बसेका दुईजना, व्यापारी लगायत रहेका छन् ।

ईश्वरपुरको थप १५ सहित आधिकारिक रुपमा यस उज्यालो अभियानलाई प्राप्त अहिलेसम्मको तथ्यांक अनुसार सर्लाहीमा एकहजार १९९ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । हाल जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ल्याबहरुबाट रिपोर्टको जानकारी सिधै मेल नआउने हुँदा पालिकै पिच्छे बुझ्नु परेकाले कतिपय पालिकाका स्वास्थ्यकर्मीले स्पष्ट तथ्यांक नदिने गरेका कारण यो तथ्यांकमा फरक पर्न सक्ने देखिन्छ ।