एक लाख बराबरको अवैध सामान बरामद, आज भन्सार बुझाइने

मलंगवा – प्रहरीले सर्लाहीको विभिन्न स्थानबाट गएराती (सोमवार राती) अवैध सामान बरामद गरेको छ ।

सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको मधुवनीगोठबाट २० हजार बराबरको १४ बोरा मोटर केराउ बरामद भएको प्रहरीले जनाएको छ । तेस्रो मुलुकबाट आएको केराउ यहाँबाट भारततर्फ लान खोज्दा प्रहरीले बरामद गरेको हो । यस्तै ईश्वरपुर नगरपालिका–६, नगरपालिका चौकबाट भन्सार छलेर भारतबाट ल्याइएको ४० हजार बराबरको दुई बोरा खैनी बरामद भएको छ ।

यसैगरी ब्रम्हपुरी गाउँपालिका ४ बाट २५ हजार बराबरको टि–सर्ट र साडीको कपडा बरामद भएको प्रहरीले जानकारी दिएको छ । चन्द्रनगर गाउँपालिका मोहनपुरबाट पानीपुरीमा प्रयोग हुने झण्डै १२ हजार बराबरको अवैध सामान बरामद गरिएको छ । बरामद यि सामग्री आज (भन्सार) भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

सीमा नाका शील रहेको अहिलेको अवस्थामा भारतबाट लुकाईछिपाई सामान भित्र्याउँदा जोखिम हुने भएकाले कडाई गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए ।