बरहथवामा सोमवार बिहानैदेखि निषेधाज्ञामा कडाई, मेयर आफै निस्किए सडकमा

बरहथवा – संक्रमणको अवस्था भयावह बन्दै गएपछि सर्लाहीको बरहथवामा आज (सोमवार) बिहानैदेखि अनावश्यक हिँड्डुलमा कडाई गरिएको छ ।

सुरक्षा प्रमुख तथा सुरक्षाकर्मीहरुलाई लिएर बरहथवा नगरपालिकाका प्रमुख (मेयर) देवानन्द महतो आफै अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई घरमै बस्न, लुकिछिपी खोलिएका बजारका पसल व्यवसाय बन्द गर्न र जथाभावी चलाइएका मोटरसाइकल लगायत अन्य सवारी नियन्त्रणमा लिन खटिएका छन् । समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गएपछि बरहथवा बजार क्षेत्रमा अब दुई हप्ता अनावश्यक हिँड्डुलमा कडाई गरिने मेयर महतोले बताए ।

कडाई गरिएपछि बिहानैदेखि बरहथवा क्षेत्र सुनसान देखिएको छ । बरहथवाबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको ३०८ जनाको अहिले धमाधम रिपोर्ट आइरहेको छ । त्यसमध्ये आइतवार राती अबेरसम्म ४८ जनाको पोजिटिभ रिपोर्ट आएको नगरपालिका कार्यालयले जनाएको छ ।